• २० असोज २०८१, आइतबार

मातृभाषा र लिपि संरक्षण गर्न तालिम

blog

मौलिक कला तथा नृत्य प्रस्तुत गर्दै शेर्पा समुदायका युवतीहरू । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन २० गते । ताप्लेजुङमा शेर्पा समुदायले आफ्नो मातृभाषा र लिपिको संरक्षण गर्न तालिम सञ्चालन गरेको छ । नयाँ पुस्तासँगै हराउँदैगएको मातृभाषा र लिपिको संरक्षण तथा जगेर्ना गर्ने उद्देश्य राखेर तालिम सञ्चालन गरिएको हो । 

शेर्पा समुदायको जातीय संस्था नेपाल शेर्पा सङ्घ ताप्लेजुङले एक महिने तालिमको आयोजनागरी सहभागीलाई मातृभाषा र शेर्पा लिपिसम्बन्धी प्रशिक्षण (तालिम) प्रदान गरेको छ । शुक्रबारसम्म सञ्चालन गरिएको एक महिने मातृभाषा तथा लिपिसम्बन्धी तालिममा जिल्लाभरका ३२ जना सहभागी भएका थिए । 

सदरमुकाम फुङ्लिङमा सञ्चालित तालिमको सहजीकरण नेपाल शेर्पा सङ्घका केन्द्रीय सदस्य दावा शेर्पा र ताप्लेजुङका संस्थापक अध्यक्ष मातृका शेर्पाले गर्नुभएको थियो । समयको विकासक्रमसँगै नयाँ पुस्ता आधुनिकतामै बढी भुल्न र रमाउन थालेपछि बिस्तारै मौलिक भाषा तथा लिपि लोप हुने स्थितिमा पुगेको अवस्थालाई दृष्टिगत गरी तालिम आयोजना गरिएको सङ्घका जिल्ला अध्यक्ष पासाङ्रिता शेर्पाले बताउनुभयो । 

यता, तालिमका सहभागीले प्रशिक्षणबाट प्राप्त सीपलाई आफ्नो परिवार र समुदाय स्तरसम्म पुगेर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । मौलिक मातृभाषा र लिपिको संरक्षण गर्दै आफ्नो संस्कार तथा संस्कृतिको जगेर्ना गर्नमा आफूहरू सधैँ क्रियाशील रहने पनि उनीहरूले प्रतिबद्धता जनाएका छन् । तालिम समापन कार्यक्रममा शेर्पाको मौलिक कला तथा नृत्यसमेत प्रस्तुत गरिएको छ ।