• १२ पुस २०८१, शुक्रबार

कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरेका छौँ

blog

सिन्धुपाल्चोक जिल्लामा पर्ने बाह्रबिसे नगरपालिका हिमाली क्षेत्रको नगरपालिका हो । समुद्री सतहबाट चार सय मिटरदेखि चार हजार मिटरसम्म उचाइको भूबनोट यहाँको छ । अनेकौँ थली, थुम्की, पहाड र चुचुरा रहेको यो नगरपालिकामा चीनको तिब्बत जोड्ने अरनिको राजमार्ग छ । तामाङको बाहुल्य रहेको यो नगरपालिकामा विविध जातजातिको बसोबास छ । गत स्थानीय निर्वाचनमा बाह्रबिसे नगरपालिकाका प्रमुखमा नेपाली कांग्रेसका तर्फबाट बालकृष्ण बस्नेत विजयी बन्नुभएको छ । नगर प्रमुख बस्नेतसँग गोरखापत्रका चित्रकुमार मिजारले नगरपालिकाका गतिविधिबारे गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :


नगरपालिकाको प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको एक वर्षभन्दा लामो समय भइसकेको छ । यो अवधिमा के कस्ता काम भए ? 

यो एक वर्षको अनुभवबाट धेरै कुरा सिक्न पाएँ । स्थानीय सरकारको प्रशासनिक क्षेत्रमा अनावश्यक प्रयोग हुने रकम हामीले बन्द गरिदिएका छौँ । कार्यालय भाडा, विविध फर्निचरजन्य सामग्री, कर्मचारीलाई खाद्यान्न र क्वाटर, वडाका सम्पर्क कार्यालयलगायतमा झन्डै ३० लाख रुपियाँ अतिरिक्त खर्च हुने रहेछ । यो वर्षदेखि सबै बन्द गरिदिएका छौँ । वार्षिक ३० लाख रुपियाँले दलित, उत्पीडित र महिलालाई सिपमूलक तालिम र अनुदान दिएर रोजगारी सिर्जना गर्ने सोचेको छु ।

शिक्षा क्षेत्रमा तपाईंहरूले मुलुककै लागि उदाहरणीय काम गर्नुभएको छ । यसको कार्यान्वयन कसरी भइरहेको छ ? 

शिक्षाबिना विकास र समृद्धि सम्भव छैन । विकसित मुलुकको अनुभवले यही कुरा बताउँछ । त्यही भएर हामीले कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरेका छौँ । यसको सफलतापूर्वक कार्यान्वयन भइरहेको छ र यसको प्रभाव पनि राम्रो छ । यहाँ भएका ४९ वटा विद्यालयमा बालबालिकाले एक रुपियाँ तिर्नु पर्दैन । यसले सबै बालबालिका र अभिभावकलाई लाभ भएको छ । यति मात्रै होइन, कक्षा ८ सम्म दिवा खाजाको व्यवस्था गरिएको छ । नियमित रूपमा आउने शैक्षिक बजेटबाहेक हामीले शिक्षा क्षेत्रमा दुई करोड ६० लाख रुपियाँ विनियोजन गरेका छौँ । नगरपालिकामा आउने बजेट अनावश्यक क्षेत्रमा खर्च गरेर सिध्याउने परिपाटी बन्द गरी शिक्षामा बढी लगानी गरिएको हो । संविधानले नै व्यवस्था गरेको कक्षा १२ सम्मको निःशुल्क शिक्षा देशमै हामीले पहिलो पटक घोषणा गरेर कार्यान्वयन गरेका हौँ । यसलाई थप प्रभावकारी बनाउन लाग्छौँ । 

कृषि क्षेत्रमा कस्ता कार्यक्रम ल्याउनुभएको छ ?

हाम्रो नगरपालिका हिमाली क्षेत्र हो । यहाँ वर्षा पनि राम्रो हुन्छ । भोटेकोशी नदी यहीँबाट बग्छ । हाम्रो भूगोलमा धैरै चट्टान र भीरपहरा छन् । भौगोलिक र हावापानीका हिसाबमा यहाँ धेरै कृषि क्षेत्र छैन । सीमित क्षेत्रमा मात्रै खेतीपाती हुन्छ । जहाँ सम्भव हुन्छ त्यहाँ पकेट क्षेत्र कार्यान्वयन गरिरहेका छौँ । पहिलो वर्षदेखि नै वडा नं. १ को दोलङ्सा, वडा नं. २ को दुरुम्थली, वडा नं. ९ को आरुखर्क र चुल्ठे, वडा नं. ६ को भन्ज्याङमा आलु पकेट क्षेत्र कार्यान्वयन गरिरहेका छौँ । पहिलो वर्ष उत्पादित २० हजार मेट्रिक टन आलुलाई ब्रान्डिङ गरेर बिक्री गरिरहेका छौँ । किसानलाई आलु बेचेर घर खर्च चलाउन सहयोग पुगेको छ । अबका वर्षमा घाँस उत्पादन गर्ने, केही खानी सञ्चालन गर्ने र किसानलाई प्रत्यक्ष फाइदा दिने कार्यव्रmम तयारी गरिएको छ ।

हलगोरु पाल्ने किसानलाई अनुदान र बिमा कार्यक्रम ल्याउनुभएको छ । यसको प्रभाव कस्तो छ ?

हाम्रो देशलाई कृषिप्रधान भनिँदै आएको छ तर हामीले कृषिलाई बेवास्ता गरिरहेका छौँ । कृषिप्रधान मुलुकमा त कृषिलाई प्राथमिकता दिनुप-यो नि । हामीले कृषिलाई प्राथमिकतामा धेरै महŒवपूर्ण कार्यक्रम ल्याएका छौँ । हाम्रो नगर भौगोलिक हिसाबले विकट छ । त्यस कारण गोरु र हलोको प्रयोग गर्नुपर्ने बाध्यता छ । आधुनिक जमानामा ट्याक्टर प्रयोग नगरेर गोरु पाल्न प्रोत्साहन गरेको भन्ने केही गुनासा पनि आए तर हामीले दृढतापूर्वक स्थानीय स्रोतसाधन प्रयोग गरेर उत्पादन बढाउने र आत्मनिर्भर बन्ने अभियान हो भनेर किसानलाई सम्झाएका छौँ । ट्याक्टर किनेर विदेशीलाई किन धनी बनाउने ? कि हामी आफैँले उत्पादन गर्नु प-यो । आफूसँग जे छ, त्यही प्रयोग गरेर कृषिलाई उकास्ने योजना बनाएका हौँ । त्यसैले हामीले हलगोरुको बिमा र अनुदानको व्यवस्था ग-यौँ । हाम्रो नगरले ७३६ हलगोरुलाई १०-१० हजार रुपियाँका दरले प्रोत्साहन खर्च वितरण गरेका छौँ । अहिले ‘लम्पी स्किन’ फैलिएको अवस्थामा त बिमाले किसानलाई ठूलो राहत दिएको छ । ‘लम्पी स्किन’ रोग लागेर मरेका गोरुको बिमा रकमबापत हामीले किसानलाई ४६ हजार रुपियाँसम्म दिएका छौँ । १२ जनाभन्दा बढी किसानले बिमा रकम लगेका छन् । 

यो क्षेत्र प्राकृतिक विपत् जोखिमको क्षेत्र हो । विपत् व्यवस्थापन पूर्वतयारी कसरी गरिएको छ ?

प्राकृतिक विपत्का हिसाबले यो नगरपालिका उच्च जोखिम (रेड जोन) मा पर्छ । त्यसै अनुरूप सतर्कता, पूर्वतयारी र व्यवस्थापनमा हामीले ध्यान दिँदै आएका छौँ । धेरै जोखिम भएका कतिपय गाउँ र बस्ती स्थानान्तरण गरिएको छ । १४ घरपरिवारलाई लालपुर्जा दिएर ठाउँ नै अर्को उपलब्ध गराइएको छ । सबै बस्तीको भौगोलिक अवस्था जाँच गरिरहेका छौँ । जोखिम क्षेत्रका बासिन्दालाई नगरपालिकाले सचेत गराएको छ । बाढीपहिरोको जोखिम उच्च रहेकाले उद्धार र राहतका सामग्रीको पर्याप्त तयारी गरिएको छ ।