• १३ मंसिर २०८१, बिहिबार

दोधराचाँदनीसँग सहकार्य छिट्टै हुन्छ : राजदुत चौधरी

blog

भेटघाटका क्रममा निवर्तमान मुख्यमन्त्री रावल र राजदुत चौधरी । तस्बिर : लक्ष्मणदत्त पन्त

लक्ष्मणदत्त पन्त

महेन्द्रनगर, साउन १९ गते । सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावल र नेपालका लागि बंगलादेशका राजदुत सलाउद्दिन नोमन चौधरीबीच भेटवार्ता भएको छ । बिहीबार दोधारा चाँदनी नगरपालिका कार्यालयमा उहाँहरुबीच भेटवार्ता भएको हो । 

भेटका अवसरमा दुई देशबीचको सम्बन्ध र आपसी सहयोगका विषयमा छलफल भएको थियो । साथै दाधराचाँदनी नगरपालिकालाई बंगलादेशको एउटा पालिकासँग सहकार्य गराउने बिषयमा छलफल गरिएको रावलको सचिवालयले जनाएको छ ।

बंगलादेशले अहिले नेपालसँग व्यापार, पर्यटन, शिक्षा र विकासमा सहकार्य गर्दै आएको छ । यसलाई अझ सुदृढ बनाउँदै स्थानीय तहबीच पनि सहकार्य र अनुभव आदान–प्रदानलगायतका गतिविधि गर्न सकिने निवर्तमान मुख्यमन्त्री रावलले बताउनुभयो ।

बंगलादेशले अहिले बिराटनगरसँग अनुभवसँगै प्रविधिको क्षेत्रमा सहयोग गरिरहेको छ । बंगलादेशको एक स्थानीय तहसँग बिराटनगरले सहकार्य गरिरहेको राजदुत चौधरीले बताउनुभयो ।

दोधारा चाँदनीसँग पनि सहकार्य छिट्टै गर्न सकिने चौधरीको भनाइ छ ।  राजदुत चौधरीलाई दोधाराचाँदनीका नगरप्रमुख किशोरकुमार लिम्बुले नगरपालिकामा स्वागत गर्नुभयो । 

भेटघाट तथा छलफलपछि निवर्तमान मुख्यमन्त्री रावलले आफनो पुस्तक डोटी राज्यको मध्यकालीन इतिहास राजदुत चौधरीलाई मायाको चिनोस्वरुप हस्तान्तरण गर्नुभयो । राजदुत चौधरीले पनि रावल र लिम्बुलाई पुस्तक उपहार दिनुभयो ।