• २३ वैशाख २०८१, आइतबार

दाङमा व्यावसायिक फुटबल प्रशिक्षण केन्द्र

blog

लुम्बिनी फुटबल एकेडेमीको ग्राउण्डमा फुटबल सिक्दै बालबालिका । तस्बिर : लीलाधर वली

लीलाधर वली

घोराही, साउन १९ गते । दाङमा बालबालिकालाई फुटबल खेलसम्बन्धी प्रशिक्षण गराउने उद्देश्यले लुम्बिनी फुटबल एकेडेमी सञ्चालनमा आएको छ । घोराही उपमहानगरपालिका–१५ भ्यालीटप टोलमा सञ्चालनमा आएको हो । 

बालबालिकालाई फुटबल खेलसँगै खेलसँग सम्बन्धित आवश्यक नीति नियमहरुका बारेमा जानकारी दिने उद्देश्यले एकेडेमी स्थापना गरिएको हो । बढ्दो फुटबल खेलप्रतिको बालबालिकाको क्रेजलाई दृष्टिगत गर्दै जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा खेल्न सक्ने खेलाडीहरु उत्पादन गर्ने उद्देश्य अनुसार लुम्बिनी फुटबल एकेडेमी सञ्चालनमा समीर वली बताउनुहुन्छ । 

नेपाल फुटबल सङ्घका लुम्बिनी प्रदेश उपमहासचिव समेत रहनुभएका वलीले फुटबल खेलप्रति रुचि राख्ने बालबालिकालाई फुटबल खेल खेल्ने तरिका, फुटबलसम्बन्धी सैद्धान्तिक पक्षसँगै अनुशासन, शिक्षालगायतका कुराहरु सिकाइने बताउनुभयो । फुटबल क्षेत्रमै आबद्ध भएकाले आफूले प्रशिक्षण केन्द्र सञ्चालन गरेको भन्दै अध्यक्ष वलीले भन्नुभयो, “लुम्बिनी फुटबल एकेडेमी भनेको बालबालिकाको प्रशिक्षण केन्द्र, यसले जिल्लाको फुटबल खेलसँगै खेलाडी उत्पादनमा सहयोग गर्नेछ ।” 

पहिलो चरणमा प्रशिक्षण केन्द्रमा ३० जना बालबालिकलाई भर्ना गर्ने तयारी भए पनि अहिलेसम्म करिब १५-२० जना बालबालिका भर्ना भएको अध्यक्ष वलीले बताउनुभयो । बालबालिकालाई प्रशिक्षणका लागि एफसी लाइेन्स प्राप्त रेफ्री खुमबहादुर वली र विनोद विकलाई प्रशिक्षकमा नियुक्त गरिएको छ । 

प्रशिक्षण केन्द्रमा भर्ना हुने बालबालिकाको पढाइका लागि एकेडेमीले घोराहीमा रहेको नेपाल प्रहरी बोर्डिङ स्कुलसँग सम्झौता गरेको संयोजक वलीले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले हामीले बालबालिकालाई खेलसम्बन्धी गरेको लगानी भोलि राष्ट्रिय टिममा देखियोस् भन्ने हो, त्यहीका लागि प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएका छौं ।” अहिले आफू जस्तै ४-५ जना युवाहरु मिलेर प्रशिक्षण केन्द्र सञ्चालन गरेको भन्दै अध्यक्ष वलीले यसलाई दीर्घकालीन रुपमा अघि बढाउनका लागि स्थानीय सरकार, प्रदेश सरकारसँगै एन्फालगायतका विभिन्न सङ्घसंस्थाहरुसँग आवश्यक सहयोगका लागि आह्वानसँगै पहल गरिरहेको बताउनुभयो । उहाँका अनुसार प्रशिक्षणमा १६ देखि १९ वर्ष उमेर समूहका बालबालिकाहरु भर्ना हुन पाउनेछन् । केन्द्रले बालबालिकासँग मासिक साढे १२ हजार रुपियाँ शुल्क लिने भएको छ । 

एकेडेमीका अध्यक्ष वलीका अनुसार खेलप्रति रुचि राख्ने तर आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई निःशुल्क रुपमा पढाउने, खेल सिकाउनेदेखि आवश्यक शैक्षिक सामग्री जुटाउने काम गरिरहेको बताउनुहुन्छ । अहिले भ्यालीटप टोल विकास संस्थाअन्तर्गत रहेको पुरानो भ्यालीटप बोर्डिङ स्कुलको ग्राउण्डमा बालबालिकालाई प्रशिक्षण गराउने र बालबालिकाहरु बढ्दै गएपछि भरतपुरस्थित पद्मोदय माध्यमिक विद्यालयको ग्राउण्डलाई प्रशिक्षण केन्द्रसँगै ठुला प्रतियोगिताहरु सञ्चालनका लागि रुपमा प्रयोग गर्नेगरी विद्यालयसँग कुरा भइरहेको उहाँले बताउनुभएको छ ।