• २० असोज २०८१, आइतबार

ओखलढुङ्गामा आँखा पाक्ने बिरामी बढे

blog

आँखाको उपचार गराउनुहुँदै एक स्थानीय महिला । तस्बिर : शेरबहादुर राई

शेरबहादुर राई

ओखलढुङ्गा, साउन १९ गते । ओखलढुङ्गामा आँखा पाक्ने रोगका बिरामीको सङ्ख्या बढेको छ । देशका विभिन्न ठाउँमा प्रकोपको रुपमा फैलिएको आँखा पाक्ने रोग यहाँ पनि फैलिएको पाइएको हो । 

समुदायमा आँखा पाक्ने तथा आँखा रातो हुने बिरामीको सङ्ख्या बढ्दा केन्द्रमा आँखा रोगीको चाप बढेको जिल्ला सामुदायिक आँखा केन्द्रकी इन्चार्ज टीका राईले बताउनुभयो । दैनिक ६–७ जनाको हाराहारीमा आँखा पाक्ने रोगसम्बन्धी समस्या भएका बिरामी केन्द्रमा आउनेगरेको राईको भनाइ छ । 

यस रोगका कारण सुरुका दिनमा बिरामीको आँखा रातो हुने, चिलाउने, आँसु बग्ने र घाममा हेर्न नमिल्नेजस्ता लक्षण देखिने गर्छ । सरुवा रोग भएकाले सजिलै एकअर्कामा सर्नसक्ने हुँदा विशेष सतर्कता अपनाउन केन्द्रकी प्रमुख राईले सुझाव दिनुभयो । 

बर्षाको समयमा सक्रिय हुने एडिनो भाइरस हावामा लामो समयसम्म बाँच्ने भएकाले आँखा पाक्ने रोगको सङ्क्रमण बढी हुने सम्भावना हुन्छ । आँखा रातो हुने, चिलाउने वा चिपचिप गर्नेबित्तिकै आफूखुशी औषधि किनेर लगाउँदा आँखामा जटिल समस्या आउने भएकाले स्वास्थ्यकर्मीको सुझावविना औषधि प्रयोग नगर्न राईले बताउनुभयो । आँखा जँचाएर मात्र औषधिको प्रयोग गर्न जिल्ला सामुदायिक आँखा केन्द्रले आग्रह गरेको छ ।