• १२ मंसिर २०८१, बुधबार

डेङ्गु फैलाउने लाम्खुट्टेका लार्भा नष्ट गर्ने अभियान सुरु

blog

इलाम नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको डेङ्गु खोज र नष्ट अभियान ।

कोकिला ढकाल

इलाम, साउन १८ गते । डेङ्गुको सङ्क्रमणबाट हुनसक्ने महामारी रोकथाम र नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालय इलाम र इलाम नगरपालिकाले बजार क्षेत्रमा लार्भा नष्ट गर्ने अभियान चलाएको छ ।

इलामको धोबीधारादेखि बजार क्षेत्र हुँदै टुँडीखेलसम्म लाम्खुट्टेका लार्भा नष्ट गर्ने काम अघि बढाइएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विमल बरालले बताउनुभयो । अभियानमा इलाम नगरपालिकाका प्रमुख केदार थापा, उपप्रमुख विष्णु दाहाल, इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलसहित जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको सहभागिता थियो । 

अहिलेसम्म जिल्लामा २० जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । गएको असारमा चार र साउन महिना लागेपछि आज सम्ममा १६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार इलाम नगरपालिकामा छ, सूर्योदय नगरपालिकामा छ, माई नगरपालिकामा चार, देउमाई नगरपालिकामा एक, रोङ र माईजोगमाई गाउँपालिकामा दुई–दुई जनामा डेङ्गु पुष्टि भएको हो । 

स्वास्थ्य कार्यालयले जिल्लामा दश वटै पालिकाहरुमा डेङ्गु जाँच गर्न ‘डेङ्गु टेस्ट कीट’ पठाएको जनाएको छ । जिल्लामा सबै प्राथमिक स्वास्थ्य केन्द्र र प्रमुख स्वास्थ्य संस्थाहरुमा डेङ्गु जाँच गर्ने गरिएको बरालले जानकारी दिनुभयो ।