• १३ असोज २०८१, आइतबार

खोल्सीगाउँका गर्भवती महिला स्वास्थ्य संस्था जाँदैनन्

blog

गर्भवती महिला स्वास्थ्य संस्था नगई गोठमै सुत्केरी गराउने खोल्सी गाउँ । तस्बिर: राजन रावत

राजन रावत

हुम्ला, साउन १९ गते । जिल्लाको एउटा सिङ्गो गाउँका गर्भवती महिलाहरू गोठमै सुत्केरी हुने गरेको पाइएको छ । गाउँमा प्रसूतिगृह नहुनु र गाउँवासीमा सुरक्षित सुत्केरी गराउने कुरामा जानकारी पाएर पनि त्यसलाई अटेरी गरेको कारण गर्भवती महिलाहरूले गोठ गोठमा सुत्केरी हुनुपरेको हो । 

सिमकोट गाउँपालिका– ८ का वडा अध्यक्ष कमल बुढाले सिङ्गो खोल्सीगाउँका गर्भवती महिलाहरू घरकै गोठ गोठमा सुत्केरी हुने गरेको बताउनुभयो । उहाँले यसरी गोठमै सुत्केरी गराउने कार्य राम्रो नभएको कुरा सम्झाउने प्रयास गर्दा पनि अभिभावकले नमान्ने गरेको बताउनुभयो ।  गोठमै गर्भवतीलाई सुत्केरी गराउँदा सुरक्षित नहुने र सम्भावित खतरा बारे जानकारी गराउँदा पनि गाउँवासीले नमान्ने गरेको उहाँले बताउनुभयो । 

खोल्सी आधारभूत स्वास्थ्य एकाइका अहेब धिरेन शाहीले आठ पटकसम्म गर्भ जाँच गराउन आउने गर्भवती महिलाहरू सुत्केरी गराउन भने वडाको स्याँडा स्वास्थ्य चौकीमा रहेको प्रसूति गृहमा जान नमान्ने बताउनुभयो । अघिल्लो आर्थिक वर्षमा उक्त गाउँमा १७ जना गर्भवती महिला भए पनि सबै जनाले गाउँकै गोठ गोठमा सुत्केरी गराइएको थियो । उहाँहरु मध्य एक जना जटिल केश भएपछि पछि जिल्लामा उद्धार गर्नुपरेको उहाँले बताउनुभयो । 

यसरी गाउँका गोठ गोठमा सुत्केरी गराउने गर्भवती महिलाहरुलाई गर्भ जाँच गरे बापतको रकम दिइने गरेको भए पनि प्रसूति गृहमा सुरक्षित सुत्केरी गराए बापत पाउने भत्ता भने दिइने गरेको छैन । उहाँले गाउँबाट एक घण्टा टाढा रहेको स्याउँ स्वास्थ्य चौकी र आधा घण्टा टाढाको धारापोरी आधारभूत स्वास्थ्य केन्द्रमा गर्भवती जान खोजे पनि परिवार र गाउँलेले सहयोग नगरेको कारण सबै गर्भवती महिला गाउँमा सुत्केरी गर्न बाध्य रहेको बताउनुभयो । 

एक सय घरधुरी रहेको उक्त गाउँमा अधिकांश ठकुरी समुदाय र केही घरधुरी दलित रहनुभएको छ । यो समस्या खोल्सी गाउँको वर्षौबाट हुँदै आएको छ । सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नर भण्डारीले यो समस्या खोल्सी गाउँको लागि जल्दो बल्दो रहेको र केही समय अगाडी आफू गएर सहजीकरण गर्न खोज्दा उल्टो उल्टो कुरा गरेको बताउनुभयो ।

सिङ्गो गाउँकी गर्भवती महिलाहरूलाई संस्थागत सुत्केरी गराउन वातावरण नबनेपछि शाखाले अब चाँडै प्रसूतिगृहको व्यवस्था गर्न लागेको जनाएको छ ।