• २० असोज २०८१, आइतबार

पहिरो पीडितलाई सरोकार केन्द्रको राहत

blog

सिदिङ्वा गाउँपालिकाका पहिरो पीडित परिवारलाई राहत रकम वितरण गरिँदै । तस्बिर: गोरखापत्र

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन १९ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका बाढी पहिरो पीडित परिवारलाई ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले राहत रकम वितरण गरेको छ । काठमाडौँबाट आएको सरोकार केन्द्रको टोलीले गाउँपालिकाको प्रशासकीय केन्द्र साब्लाखु पुगेर बिहीबार पीडित परिवारलाई राहत वितरण गरेको हो ।

गत असार पहिलो साता भीषण वर्षासँगै गएको बाढी पहिरोबाट प्रभावित भएका परिवारलाई सरोकार केन्द्रले राहत स्वरुप आर्थिक उपलब्ध गराएको हो । केन्द्रका अध्यक्ष टङ्क श्रेष्ठसहित पदाधिकारीको टोलीले पीडित परिवारलाई प्रत्यक्ष भेटेर राहत रकम वितरण गरेको बताइएको छ । 

बाढी र पहिरोमा परी मृत्यु तथा बेपत्ता भएका परिवारलाई प्रतिव्यक्ति १२ हजार रुपियाँका दर र विस्थापित भएका परिवारलाई प्रतिपरिवार २५ हजार रुपियाँका दरले राहत रकम वितरण गरिएको छ । यस्तै पहिरोको उच्च जोखिममा परेकालाई प्रतिपरिवार छ हजार रुपियाँका दरले राहत रकम वितरण गरिएको केन्द्रका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । 

पहिरोमा परी मृत्यु भएका तीन जना, बेपत्ता तीन जनाका परिवार, विस्थापित २७ परिवार, उच्च जोखिममा परेका २० परिवार र घाइते भएका दुई जनालाई उपचार खर्चबापत १० हजारका दरसमेत गरी कुल आठ लाख ६७ हजार रुपियाँ राहत रकम वितरण गरिएको छ । राहत रकम सरोकार केन्द्रका पदाधिकारीसहित गाउँपालिका अध्यक्ष मानबहादुर राई, उपाध्यक्ष कृष्णकुमारी कडरिया लगायतले वितरण गर्नुभएको थियो ।