• २० असोज २०८१, आइतबार

बजार अनुगमन हुन थालेपछि व्यवसायीको भागाभाग

blog

दमक समाचारदाता

दमक, साउन १९ गते । मेचीनगर नगरपालिकाले बजार अनुगमन गरेर गुणस्तरहीन तथा र म्याद नाघेको खाद्य सामग्री नष्ट गर्न सुरु गरेपछि कतिपय व्यवसायीले पसल बन्द गरेर भागेका छन् । नगर प्रमुख गोपालचन्द्र बुढाथोकीसहितको टोली बजार अनुगमनमा निस्केको हो ।

खाद्य सामग्रीहरू मानव स्वास्थ्यसँंग प्रत्यक्ष जोडिएको हुँदा यसका लागि आवश्यक मापदण्ड सबैले पालना गर्नुपर्ने प्रमुख बुढाथोकीले जनाउनुभयो । दुई दिन अनुगमन गर्दा अधिकांश पसलमा गुणस्तरहीन र उपभोग्य मिति सकिएका खाद्य सामग्री पाइएको उहाँको भनाइ छ ।

मेचीनगर नगरपालिकाका खाद्य विश्लेषक दिपेन्द्र कार्कीका अन्ुसार उपभोग्य मिति सकिएका र तोकिएबमोजिम लेवल टाँस नभएका खाद्य सामग्रीहरू बजारभर बिव्रmी वितरण भइरहेको पाइएको छ । उपभोग्य मिति समाप्त भएका सबै खाद्य सामग्री जफत गरेर नष्ट गरिएको उहाँले बताउनुभयो ।

बजार अनुगमन गर्दै उपभोग्य मिति सकिएका र तोकिएको मापदण्ड अनुसार खाद्य सामग्री नरहेको पाइएपछि जफत गरेको थाहा पाएपछि कतिपय व्यवसायीले सटर तानेर भागेको पनि पाइएको छ । 

बजार अनुगमनलाई नियमितता दिने नगरपालिकाका उपप्रमुख मीना पोखरेलले बताउनुभयो । भागेर वा नगरपालिकालाई छलेर कसैले पनि नियमित रूपमा व्यवसाय गर्न नसक्ने जनाउनुभयो । अधिकांश पसलमा उपभोगका लागि अयोग्य भइसकेका खाद्य सामग्रीहरू पाइएको जनाउँदै उहाँले यसले आफूहरूलाई गम्भीर बनाएको बताउनुभयो ।

मेची उद्योग वाणिज्य सङ्घ मेचीनगरका उपाध्यक्ष भूमि पौडेलले नाम चलेका पसल तथा व्यवसायीको पसल र गोदामबाट नै लाखौँ मूल्यका खाद्य सामग्री जफत गर्नुपर्ने अवस्था भेटिएको बताउनुभयो । नगरपालिका र व्यवसायीहरू नै यसमा सचेत हुनुपर्ने अवस्था छ, उहाँले भन्नुभयो ।