• २० असोज २०८१, आइतबार

नदी नियन्त्रणमा प्रभावकारी ‘प्रोकोपाइन’

blog

बाबुराम कार्की

वराहक्षेत्र, साउन १९ गते । सप्तकोशी नदीको पूर्वी तटबन्ध किनार क्षेत्रमा लगाएको प्रोकोपाइनले पानीको बहाव मात्रै रोकेको छैन, कोशीको धारै परिवर्तन गर्दै आएको छ । वर्षाको बाढीसँगै बगेर आउने बालुवा, माटो, लेदो, ढुङ्गा गेगरलाई रोकेर कटान हुनबाट जोगाउने काम प्रोकोपाइनले गर्दै आएको छ । प्रत्येक वर्ष वर्षाको चार महिना (जेठ, असार, साउन र भदौ) कोशी आसपास वर्षांैदेखि बसोबास गर्दै आएका स्थानीय बासिन्दामा भएको डर र चिन्तालाई समेत प्रोकोपाइनको कामले केही राहत दिएको छ । 

प्रत्येक वर्ष वर्षा याममा कोशीले के गर्ने होला भन्दा पनि भारतीय (कोशी पोजेक्ट) ले यसपालि पूर्वी तटबन्धमा कतिको राम्रो काम ग-यो भन्ने चिन्ता स्थानीय बासिन्दामा रहन्छ । वराहक्षेत्र–९ का स्थानीय चव्रm तिम्सिना भन्नुहुन्छ, “कोशी प्रोजेक्टले बाढी नियन्त्रणका लागि गरेको काममध्ये प्रभावकारी काम प्रोकोपाइन नै हो । अधिकांश कोशीको पूर्वी किनारअगाडिको भागमा प्रोकोपाइनले गर्दा लेदो, माटो, बालुवा जमेर उच्च भएको छ ।”

के हो प्रोकोपाइन प्रविधि ?               

नदी किनारको तटबन्ध जोगाउन, पानीको बहावलाई रोक्न बालुवा, गिट्टी, सिमेन्ट र रडको प्रयोग गरेर बनाएको तीन वटा पिल्लरलाई त्रिभुज आकारमा नट भोल्टले कसेर बनाएको त्रिखुट्टी नै प्रोकोपाइन हो । प्रोकोपाइन लहरै हालेर बाँस अड्काएपछि बालुवा, गिट्टी, ढुङ्गा (ग्रेगर) प्रोकोपाइन मुनि थिग्रिन्छ र तटबन्धलाई मजबुत बनाउँछ । 

कटान लाग्दैछ भने पानीको बेग रोक्न प्रोकोपाइन लगाइन्छ । प्रोकोपाइन लगाएको ठाउँमा बालुवाले सिल गर्छ र कटान रोक्ने काम गरेको कोशी योजना विराटनगरका सम्पर्क तथा भूआर्जन अधिकृत प्रमोद पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “कटान रोक्नदेखि तटबन्धको सुरक्षा र नदीको धार परिवर्तन गर्न प्रोकोपाइन प्रभावकारी बनेको छ ।”

“सिमेन्टको पिल्लर राखेर के कटान रोकिन्छ र जस्तो लागेको थियो । गत वर्षको भेलले सबै प्रोकोपाइन पुरिदियो र त्योभन्दा अगाडिबाट कोशी कुदेको थियो । कौवाटोलीको नोजभन्दा अगाडिबाट पानी पश्चिम गयो,” वराहक्षेत्र–९ का स्थानीय बासिन्दा उमेश राई भन्नुहुन्छ, “यसपालि कौवाटोलीको स्पर अगाडि प्रोकोपाइन लगाएनन् । फेरि कोशी नजिक आएको छ । सबै पूर्वी तटबन्धको किनारमा प्रोकोपाइन लगाउने हो भने स्पर र तटबन्धमा कटान हुँदैनथ्यो ।” 

कोशीको धार परिवर्तन 

पाँच वर्षअघि कोशीटप्पु वन्यजन्तु आरक्षको उत्तरी सीमामा रहेको २३ः५२ स्पर अगाडिको भङ्गालो छेक्न चार पाँच वर्ष लगाएर प्रोकोपाइनको सहाराले भङ्गालोलाई पूर्वी तटबन्ध भएर बग्ने पानीलाई पश्चिमतर्फ धकेलेको कोशीमै काम गर्ने ठेकेदार मोहन मण्डलले बताउनुभयो । मधुवन सबडिभिजनले सात वर्षअघि भङ्गालोलाई फर्काएको उहाँले बताउनुभयो । 

राजाबास सबडिभिजनका जुनियर इन्जिनियर केके सिंहका अनुसार  २५ः२५ स्परको अगाडि (अफ) मा र २४ः४५ स्परको डाउन र लुपमा ११ सय सेट प्रोकोपाइन लगाइएको छ । उहाँले भन्नुभयो, “छ वटा चार÷चारको १० फिटे पिल्लरको एक सेट हुन्छ । एउटा पिल्लरमा तीन÷तीनका चार वटा फलामको रड र २१ वटा चरी लगाइएको हुन्छ त्यसमा सिमेन्ट, बालुवा र गिट्टी लगाइएको हुन्छ । यसले पानीको बेगलाई रोकेर कटान हुनबाट जोगाउँछ ।” 

कोशीको सिसौलीघाट क्षेत्रमा पनि ११ सय सेट लगाइएको छ । कोशीकै लाहुरेखोज क्षेत्रमा पनि एक हजारभन्दा बढी सेट तटबन्ध किनारमा लगाइएको ठेकेदार मण्डलले जानकारी दिनुभयो । प्रोकोपाइन लगाइएका स्परहरूमा ग्रेगर जम्मा भएर उच्च हुने भएकाले कोशीले आफ्नो धार परिवर्तन गर्ने गरेको उहाँले बताउनुभयो । धरहरा टपन नजिकको २३ः७८ नोज अगाडि गत वर्षदेखि पानी छैन । प्रोकोपाइनले गर्दा त्यो भाग उच्च भएको छ । स्पर र तटबन्ध नजिक बाढी आएको बेला पानी आउथ्यो । गत वर्षदेखि यो स्परभन्दा केही अगाडिका स्परबाट कोशीलाई प्रोकोपाइनको सहाराले पश्चिम धार परिवर्तन ग-यो । अहिले पनि सम्भावित स्पर अगाडि प्रोकोपाइन र बाँस लगाउने काम भएको छ । 

राजाबास सबडिभिजनले स्परहरूलाई थप मजबुत बनाउन यस वर्ष सात हजार वटा पिल्लर प्रोकोपाइन लगाएको छ । चव्रmघट्टी सबडिभिजनले यस वर्ष झन्डै १५ हजार प्रोकोपाइन पिल्लर लगाएको ठेकेदार मण्डलले जानकारी दिनुभयो । यसरी प्रोकोपाइन लगाएको स्थानमा बाढीले ल्याउने बालुवा, माटोले भरिने गर्छ र कोशीले आफ्नो बाटो परिवर्तन गर्ने गरेको छ । 

कोशीमा प्रोकोपाइन सन् २००९ देखि नै लाउँदै आइएको छ । प्रत्येक वर्ष कटानको अवस्था हेरेर पुरानो ठाउँ र नयाँ ठाउँमा विस्तार गर्दै लाने गरेको छ । कोशी प्रोजेक्ट अन्तर्गत चव्रmघट्टी सबडिभिजन, राजाबास सबडिभिजन, मधुवन सबडिभिजन, कुशाह सबडिभिजनले कोशी ब्यारेजदेखि चतरासम्म हेर्दै आएको छ । 

स्थानीयवासी भन्छन्, “यस्तै गरी प्रोकोपाइन लगाउँदै जाने र कोशीले धार परिवर्तन गर्दै जाने हो भने अबको केही वर्षपछि पूर्वी तटबन्धमा पानी नै हुँदैन् । कोशीले यसै गरी पूर्वी तटबन्धको धार छोड्दै गए तटबन्ध र स्परको आयुसमेत लम्बिने थियो ।”