काठमाडौं, साउन १८ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मापदण्ड विपरीत सञ्चालित अस्पतालहरुलाई कानून बमोजिम कारबाही गरिने बताउनु भएको छ ।
स्वास्थ्य मन्त्रालयले बिहीबार गरेको उपत्यकाका ८ वटा अस्पतालहरुको अनुगमन पछि अनुगमन टोलीले प्रस्तुत गरेको प्रारम्भिक रिपोर्टका आधारमा अधिकांश अस्पतालले मापदण्ड पालना नगरेको पाइएको मन्त्री बस्नेतले बताउनु भयो ।
मन्त्री बस्नेतले भन्नुभयो, ‘‘अनुगमनको प्रारम्भिक रिपोर्ट अनुसार उपत्यकाका अधिकांश अस्पताल मापदण्ड अनुसार चलेको पाइएन । नियम विपरीत सञ्चालित अस्पताललाई अनुगमन टीमको रिपोर्टका आधारमा कानूनी कारबाही गर्छौं ।’’ मन्त्री बस्नेत स्वयं पनि केही अस्पतालको अनुगमनमा सहभागी हुनु भएको थियो ।
कानून अनुसार अनुगमनका क्रममा नियम विपरीत सञ्चालित अस्पताललाई बन्द गर्न सक्ने अधिकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई छ । स्वास्थ्य मन्त्रालयले बिहीबार मन्त्रालयका अतिरिक्त सचिवहरु क्रमशः डा.विकास देवकोटा, डा. टंक बराकोटी, डा.संगीता कौशल मिश्र र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहको नेतृत्वमा ४ वटा टोली बनाएर काठमाडौं, ललितपुर र भक्तपुरका सरकारी र निजी गरी ८ वटा अस्पतालको अनुगमन गरेको थियो ।
अनुगमन गरिएका अस्पतालहरुमा नेपाल मेडिकल कलेज जोरपाटी, शंकरापुर अस्पताल जोरपाटी, अल्का अस्पताल जावलाखेल, मेडिसिटी अस्पताल भैँसेपाटी, कान्ति बाल अस्पताल महाराजगन्ज, मनमोहन सामुदायिक अस्पताल स्वयम्भू, भक्तपुर अस्पताल र नागरिक सामुदायिक अस्पताल गठ्ठाघर भक्तपुर छन् । अनुगमन टोलीमा प्याथोलोजिष्ट, रेडियोलोजिस्ट, नर्सिङ अधिकृत, फर्मासिस्ट, माइक्रोबायोलोजिष्ट, स्त्री तथा प्रसूतिरोग विज्ञ, सरुवा रोग विज्ञ, मानव संशाधन, अस्पताल व्यवस्थापक सहितका विज्ञहरु सहभागी थिए ।
अनुगमनका क्रममा अस्पतालहरुले १० प्रतिशत शय्यामा विपन्नलाई उपचार दिनुपर्नेमा त्यसो नगरेको, कुल शय्याको १० प्रतिशत आकस्मिक शय्या छुट्याउनु पर्नेमा त्यसो नगरेको, आवश्यकता भन्दा बढी शल्यक्रिया मार्फत डेलिभरी गराएको, प्याथलोजी व्यवस्थित नभएको, स्टाफ नर्स तथा सहायक स्तरका कर्मचारीहरुलाई न्यूनतम तलबसमेत दिने नगरिएको, फोहोर व्यवस्थापनको उचित व्यवस्थापन नगरेको, वेभ साइडका उपलब्ध सेवा व्यवस्थित गरी नलेखिएको लगायतका थुप्रै नियम विपरीत काम भएको पाइएको अनुगमन टोलीका संयोजक अतिरिक्त सचिव डा.टंक बाराकोटीले जानकारी दिनुभयो ।
उहाँले कानून विपरीत सञ्चालित अस्पताललाई गरिने कारवाहीका बिषयमा मन्त्रालयले छिट्टै निर्णय गर्ने जानकारी पनि दिनुभयो। अनुगमन टोलीका अर्का सदस्य डा. अनुप वास्तोलाले अनुगमन गरिएको एक अस्पतालमा त कति शय्यामा सञ्चालित छ भन्ने कुरा पत्ता लगाउन समेत घण्टौँ लागेको अनुभव सुनाउनु भयो ।
डा. बास्तोलाले भन्नुभयो, ‘‘अस्पतालका आधिकारिक व्यक्ति पिच्छे नै फरक फरक जानकारी पाएपछि कति शय्यामा सञ्चालित भन्ने विषयमै अलमलमा परियो ।’’
मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेपछि अनुगमनलाई अगाडि बढाउउनु भएको छ । केही दिन पहिले मन्त्री बस्नेतकै निर्देशनमा औषधि व्यवस्था विभागले पनि देशका ७७ वटै जिल्लाका फार्मेसी अनुगमनलाई तीव्रता दिएको थियो । यो क्रम अहिले पनि जारी छ ।