• २० असोज २०८१, आइतबार

‘विकासको नाममा नक्कल नगरौँ’

blog

पशुपतिनगर समाचारदाता 

पशुपतिनगर (इलाम), साउन १८ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन विकासको नाममा बाह्य संस्कृति भिœयाउन नहुने बताउनुभएको छ । सूर्योदय नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले पर्यटन विकासको नाममा अन्य देशको सिको गर्न नहुने बताउनुभएको हो । 

नेपालको रैथाने संस्कार संस्कृतिको विकास गर्न सके मात्र दिगो पर्यटन विकास गर्न सकिने बताउँदै उहाँले भन्नुभयो, “विदेशीको संस्कार संस्कृति नक्कल गर्नु भनेको हाम्रो मौलिकता समाप्त हुनु हो । प्रकृतिले जे मागेको छ त्यो मात्र विकासका नाममा गर्नु पर्छ, डाँडाडाँडामा भ्युटावर निर्माण गरेर प्रकृतिको विनास गर्नुहुन्न ।” 

उहाँले विकासका नाममा धरातल बिर्सन नहुने भन्दै विकासका लागि निर्माण गरिने संरचनाले पुर्खाको झल्को मेटन नहुने बताउनुभयो । मन्त्री किरातीले पर्यटन मन्त्रालयसँग योजना भए पनि बजेट कम भएकाले काम गर्न समस्या भएको बताउनुभयो ।

युरोपमा करोडाँै खर्च गरेर भएका भ्रमणले नेपालमा कति पनि पर्यटक ल्याउन नसकिने भन्दै उहाँले पर्यटन क्षेत्रका लागि छिमेकी देशहरूमा खर्च गर्ने हो भने पर्यटक ल्याउन सकिने बताउनुभयो । भ्रमणका नाममा करोडौँ खर्च गरी कार्यकर्ता र नातेदार घुमाउने होडबाजी चल्ने गरेको भन्दै मन्त्री किरातीले जबसम्म नाता र कार्यकर्ता पोस्ने काम हुन्छ तबसम्म देशमा विकास नहुने बताउनुभयो ।

इलाम निर्वाचन क्षेत्र नम्बर १ का सांसद महेश बस्नेतले इलामको पर्यटन विकासका लागि थुप्रै कार्यक्रम गर्न आवश्यक भए पनि यस वर्ष बजेट नराखिनु दुःखद रहेको बताउनुभयो । सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले नगरको विकासका लागि कति पनि कन्जुस्याइँ नगरी काम गरिरहेको बताउनुभयो । कार्यक्रममा गोरखापत्रकर्मी प्रेम अधिकारीसहित  २६ जनालाई सम्मान गरिएको थियो ।