• २० असोज २०८१, आइतबार

कोशी प्रदेश मुख्यमन्त्रीसँगै केही मन्त्रीको शपथ आज

blog

विराटनगर, साउन १७ गते । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज शपथ लिनुहुने भएको छ । मुख्यमन्त्री थापाले पहिलो चरणमा केही मन्त्री नियुक्त गर्ने तयारी पनि गर्नुभएको छ । नवनियुक्त मन्त्रीहरूले पनि आजै शपथ लिनुहुनेछ । 

प्रदेश प्रमुखको कार्यालयले साँझ ५ बजे  शपथको समय निर्धारण गरेर तयारी गरिरहेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव नरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । 

मुख्यमन्त्री थापाले अघिल्लो क्याबिनेटमा सहभागी हुनुभएका केही मन्त्रीहरू दोहोरिने प्रतिक्रिया दिनुभएको छ । आज विस्तार हुने मन्त्रिपरिषदमा नेपाली काङ्ग्रेसबाट प्रदीप सुनुवार, नेकपा एकीकृत समाजवादीबाट कमल जबेगु र नेकपा माओवादी केन्द्रबाट निवर्तमान सभामुख बाबुराम गौतमलाई समावेश गर्ने तयारी भइरहेको बताइएको छ । यद्यपि यस विषयमा अहिलेसम्म औपचारिक जानकारी भने गराइएको छैन । 

प्रदेश प्रमुख परशुराम खापुङले संविधानको १६८ को उपधारा २ अनुसार मङ्गलवार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको समर्थन प्राप्त काँग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । थापासँग सरकार गठन गर्न आवश्यक पर्ने न्यूनतम सङ्ख्या ४७ जना सांसदको समर्थन छ ।