• १५ वैशाख २०८१, शनिबार

खडेरीले मकै बाली नष्ट

blog

गोकुल भुजेल

भोजपुर, साउन १७ गते । अरुण गाउँपालिका अन्तर्गत पर्ने जरायोटार र सिक्रेटारमा सुक्खा खडेरीका कारण मकै डढेर नष्ट भएको छ। स्थानीय १२० जना कृषकले १७० हेक्टर क्षेत्रफलमा लगाएको मकै पछिल्लो समय भएको सुक्खा खडेरीले नष्ट भएको हो। 

असार साउनमा भारी वर्षा हुनुपर्ने हो तर यो वर्ष आकाशे पानी नपर्दा किसानले लगाएको मकैलगायत अन्य खाद्यान्न बाली बारीमै सुकेको छ। कृषकको जीविकोपार्जनको सहारा भनेकै खेतको धान र बारीको मकै हो। किसानले खेत बारीमा लगाएको धान, मकै बेचेर घरायसी खर्च र छोराछोरीको पढाइ खर्च टार्दै आएका छन्। 

वार्षिक २० देखि ३० मुरी मकै उत्पादन गर्दै आएको बताउँदै अरुण गाउँपालिका–६, जरायोटारस्थित बतासेका स्थानीय नारायण थापाले भन्नुभयो, “यो वर्ष बारीमा जाँदा विरक्त लाग्छ। साउनमा मकै बारी जाँदा हरियालीसहित ठुलाठुला मकैका घोगा, तरकारी हुन्थ्यो अहिले बारीमा केही छैन, मन विक्षिप्त हुन्छ।” यो वर्ष भोकमरीले बस्तुलाई के खुवाउने भन्ने समस्या हुने उहाँले उल्लेख गर्नुभयो। अरुण गाउँपालिका कृषि शाखाका प्रमुख रवीन्द्र सापकोटाले सुक्खा खडेरीबाट प्रभावितहरूको लगत सङ्कलन गरी राहतका लागि स्थानीय तहसँगै सम्बन्धित निकायहरू कृषि ज्ञान केन्द्र, प्रदेश र सङ्घमा सहयोगको प्रस्ताव गर्ने बताउनुभयो। 

यता, अरुण गाउँपालिका–५, याकुका कृषकहरू धान खेतीमा रोग तथा किराको प्रकोपले धान मर्न थालेपछि थप चिन्तित बनेका छन्। स्थानीय नवराज फुयालका अनुसार याकुका ७५ प्रतिशत कृषकको खेतमा प्रकोप देखापरेको छ। कृषि ज्ञान केन्द्र भोजपुरका कृषि प्राविधिक सहायक योगेन्द्र राईका अनुसार धानमा ब्लास्ट र गमरा रोगको प्रकोप रहेको जनाउँदै यसको तत्काल नियन्त्रणका लागि ज्ञान केन्द्रले आवश्यक औषधी उपलब्ध गराउने बताउनुभयो। 

पीडित कृषकको घाउमा मलम लगाउन सम्भावित विकल्पको खोजी गरी समस्या न्यूनीकरण तथा राहत वितरणमा आवश्यक सहयोग गर्ने वडाध्यक्ष युवराज ढकालको भनाइ छ। प्राकृतिक प्रकोपको सम्भावित क्षति न्यूनीकरणका लागि स्थानीय तहले दिगो योजनाका साथ अगाडि बढ्नुपर्ने नेपाली कांग्रेस अरुण गाउँपालिकाका सभापति श्रीकुमार राईले बताउनुभयो।  

यता गाउँपालिकाकी उपाध्यक्ष विनिता ढकालले प्राकृतिक प्रकोप भवितव्य हुने भएकाले यसको समाधानका उपायहरू खोजी गरी आगामी दिनमा पूर्वतयारी अवस्थामा रहन आवश्यक रहेको औँल्याउँदै तत्काल पालिका क्षेत्रमा देखिएका समस्या समाधान गर्न लागिपरेको बताउनुभयो।

कृषकलाई राहत उपलब्ध गराउन सरोकारवाला निकायसँग प्रदेश सरकार र सङ्घमा समेत माग गर्ने गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले बताउनुभयो। प्रभावित क्षेत्रको अनुगमन गर्दै अध्यक्ष खत्रीले भन्नुभयो, “यसअघि बाढीपहिरोले वडा नं. १ र २ का बस्ती प्रभावित भयो, ‘लम्पी स्किन’ को महामारीका कारण पशुचौपायामा ठुलो क्षति भयो। हाल सुक्खा खडेरी र धानमा देखिएको रोगका कारण कृषक थप पीडित भएका छन्।”