केदार तिमल्सिना
काभ्रेपलाञ्चोक, साउन १७ गते । काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिकाको केन्द्रलाई प्रदेशभित्रको नमुना उदीयमान सहरका रूपमा विकास गरिने भएको छ। बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा खानीखोला गाउँपालिकाको केन्द्र तालढुङ्गालाई उदीयमान नमुना सहरका रूपमा विकास गर्न बजेट विनियोजन गरेको हो।
प्रदेश सरकारले खानीखोलाको केन्द्र तालढुङ्गालाई उदीयमान नमुना सहर बनाउनका लागि सहरी विकास तथा भवन कार्यालय काभ्रेपलाञ्चोकमार्फत दुई करोड रुपियाँ विनियोजन गरेको छ। कार्यालयका प्रमुख इन्जिनियर सन्तोषकुमार निरौलाले प्रदेश सरकारले खानीखोलाको केन्द्र तालढुङ्गा बजारलाई नमुना उदीयमान सहरका रूपमा विकास गर्ने उद्देश्यले चालु आवमा बजेट विनियोजन गरेको बताउनुभयो। निरौलाले भन्नुभयो, “प्रदेश सरकारले गाउँपालिकाबाट अन्य स्थानमा हुने बसाइँसराइ रोक्ने तथा गाउँपालिकाभित्रको नजिकको बजारका रूपमा विकास गर्ने लक्ष्यका साथ नमुना उदीयमान सहरको अवधारणा अघि सारेर काम गर्न लागेको हो।’’ उहाँले काभ्रेपलाञ्चोक र मकवानपुर जिल्लालाई सडक मार्गमा जोड्नका लागि बागमती नदीमा पुल निर्माणको काम भइरहेको बताउँदै पुल सम्पन्न भएपछि तालढुङ्गाबाट प्रदेश राजधानी हेटौँडा दुई घण्टामा पुगिने बताउनुभयो।
उहाँले गाउँपालिकाले गत वर्ष गाउँपालिकाको केन्द्र रहने स्थानको विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको बताउनुभयो। निरौलाले गाउँपालिकाले तयार गरेको डिपिआरको विषयमा जनप्रतिनिधि, सहरी विकास योजनाविद् तथा स्थानीय नागरिकसँग छलफल गरी उक्त डिपिआरलाई आवश्यकता अनुसार परिमार्जन गरी उक्त योजनालाई बहुवर्षीय आयोजनामा समावेश गरिने बताउनुभयो। बिपी राजमार्ग र मदन भण्डारी राजमार्ग जोड्ने सडक (प्रस्तावित जनमुक्ति मार्ग) मा तालढुङ्गा सहर पर्दछ। तालढुङ्गा बजार खानीखोला गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको छ।
खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले प्रदेश सरकारले प्रदेशभित्रको नमुना कार्यक्रमका रूपमा नमुना उदीयमान सहरको अवधारणा अघि सारेको बताउनुभयो। उहाँले तालढुङ्गा नमुना सहर निर्माण भएसँगै खानीखोलाका साथै महाभारत गाउँपालिकाको समेत बजार हुने बताउनुभयो। उहाँले तालढुङ्गामा सडक, ढल, बस्ती विकास, पार्क निर्माणलगायतका काम गरेर बनेपा, धुलिखेल, हेटौँडामा उपलब्ध हुने सेवा दिन सकेमा पर्यटनको विकास हुने भन्दै तालढुङ्गालाई प्रदेशभित्रको सानो, सुन्दर, आकर्षक सहर बन्ने दाबी गर्नुभयो।