• १३ असोज २०८१, आइतबार

टिआरसीसँग सम्बन्धित विधेयक छिटो भन्दा छिटो पारित गर्नुपर्छ : कांग्रेस

blog

फाइल तस्बिर

काठमाडौं, साउन १६ गते। सत्तारुढ दल नेपाली कांग्रेसको पार्टी पदाधिकारी बैठकमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग ऐन चाँडो भन्दा चाँडो पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ। मंगलबार कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पदाधिकारी बैठकमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग ऐन चाँडो भन्दा चाँडो पारित गर्नुपर्ने विषयमा छलफल भएको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता मिनबहादुर विश्वकर्माले बृहत शान्ति सम्झौतापछि शान्ति प्रक्रियाका टुंग्याउन बाँकी रहेका थुप्रै कामका बारेमा सत्य मेलमिलाप तथा बेपत्ता छानबिन आयोगको ऐन अहिले संशोधनको अवस्थामा रहेकाले चाँडो भन्दा चाँडो पारित गर्ने बारेमा सम्बन्धित समितिमा रहेका सांसद र पदाधिकारीबीच छलफल भएको बताउनुभयो।उहाँले द्वन्द्वरत पक्ष र द्वन्द्वबाट प्रभावित पक्षहरु, पीडित, पीडकसँगको सहमतिमा वा स्वीकार्यमा विधेयक ल्याउनुपर्ने बारेमा छलफल भइसकेको भन्दै त्यसैबारेमा अहिले छलफल गरेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘नेपालले शान्ति प्रक्रिया सुरु गरेपछि, बृहत शान्ति सम्झौतापछि शान्ति प्रक्रियाका टुंग्याउन बाँकी रहेका थुप्रै कामका बारेमा सत्य मेलमिलाप तथा बेपत्ता छानबिन आयोगको ऐन अहिले संशोधनको अवस्थामा छ।त्यसैले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन त्यो ऐन यथाशिघ्र संसदबाट पारित गर्नुपर्ने जरुरी छ।यति हुँदाहुँदै पनि धेरै विवादित विषय थिए।त्यसमा द्वन्द्वरत पक्ष र द्वन्द्वबाट प्रभावित पक्ष, पीडित, पीडकसँगको सहमतिमा वा स्वीकार्यमा विधेयक ल्याउनुपर्छ भनेर फराकिलो छलफल चलिरहेको हो।विगतका संसदले पारित गर्न सकेको थिएन।अहिले त्यही प्रयत्न भइरहेकोमा नेपाली कांग्रेसमा विशेषतः शीर्ष नेताले सभापतिसमेत र संसदमा सम्बन्धित समितिमा काम गर्नु भइरहेका सांसदबीचको आन्तरिक छलफल हो।कहाँ कहाँ अफ्ठ्यारा विषय छन्, त्यसलाई कसरी सहज बनाउने र सत्य निरुपण तथा मेलमिलाप आयोगको ऐनलाई छिटो भन्दा छिटो पारित गराउने र अरु सम्बन्धित पक्षसँग कसरी सहमति जुटाउने भन्ने बारेमा छलफल भएको हो।संसदको गतिरोध अवरोध अन्त्य गर्न सभामुखले पहल गरिरहनुभएको छ।सरकारले पनि यसमा पहल गर्नुपर्छ।हामीले भनिरहेका छौं।विवादित विषयमा सरकारले प्रश्न उठेपछि प्रष्ट्याउनुपर्छ।त्यसपछि संसदको गतिरोध समाप्त हुन्छ।संसदको काम कानून बनाउने हो।थाती रहेका कानुनहरुलाई पनि टुंग्याउन संसदको गतिरोध अन्त्य हुनैपर्छ ।’’

नेता विश्वकर्माले संसदमा भइरहेको अवरोधको विवादित विषयमा सरकारले प्रश्न उठेपछि प्रष्ट्याउनुपर्ने बतउनुभयो।