काठमाडौं, साउन १६ गते। नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले इमान्दारीबाट मात्रै देशले सफलता प्राप्त गर्ने बताउनुभएको छ।
मङ्गलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सबै नेताहरू बन्नुपर्ने जति इमानदार बन्न नसकेको बताउनुभएको हो। उहाँले देश बनाउने भावना जागृत भएमात्रै देश विकास हुने बताउनुभयो। उहाँले आफूलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न खोज्दा देशको विकास नभएको बताउनुभयो। नेपालले कुनै पनि कार्य गर्न इमानदारी मुख्य कुरा रहेको भन्दै सबै व्यक्ति आफूप्रति इमानदार हुनुपर्ने बताउनुभयो।
नेपालले भन्नुभयो,"जे सुकै गर्नका लागि पहिलो कुरा इमानदारी हो। आफूप्रति इमानदार हौँ। आफ्नो पढाइप्रति इमानदार हौँ। मिहिनेती बन्नुपर्छ। इमानदार र मिहिनेती भयो भने जस्तोसुकै क्षेत्रमा पनि सफल हुन सकिन्छ। अल्छी हुनुहुँदैन, ढाँट्नु हुँदैन, छलछाम गर्नुहुँदैन। हामी आफ्नो देश बनाउन सक्छौँ कि सक्दैनौँ भन्ने प्रश्न खडा भएको छ। हाम्रो स्वाधीनता र सम्मानमा ठेस लाग्ने काम भयो भने नेपालीलाई त्यो स्वीकार्य हुँदैन। जनताको सन्दर्भमा पनि जनतामा भेदभाव, अन्याय, अत्याचार भयो भने थिचोमिचो भयो भने अनि एउटाले अर्कोलाई विभिन्न हिसाबले गरिब भनेर हेला गर्ने, दलित भनेर हेला गर्ने, विपन्न भनेर हेला गर्ने यस्तो प्रवृत्ति भयो भने यो देशले प्रगति गर्न सक्दैन।’’
नेपालले संविधानमा अधिकारहरू थुप्रै दिए पनि लागू हुने कुरामा कमी देखिएको उहाँको भनाइ छ।
बधाई तथा सम्मान कार्यक्रममा प्रस्तुत नृत्य । तस्बिर: कविता थापा