• ११ जेठ २०८१, शुक्रबार

अस्पतालजन्य फोहोर सडकमा

blog

विष्णुप्रसाद पोखरेल

दमक, साउन १६ गते  । झापाको दमक नगरपालिकाभित्रका डेन्टल अस्पताल तथा अन्य अस्पताल र क्लिनिकले प्रयोग गरेका सिरिन्जलगायतका संवेदनशील औषधीजन्य फोहोर सडकमा फाल्ने गरेका छन्। अस्पतालजन्य फोहोरको उचित व्यवस्थापन नहुँदा मानव स्वास्थ्यमा घातक असरसम्म पर्ने गर्दछ।  

क्लिनिक तथा अस्पतालले फोहोर व्यवस्थापन गर्ने कुनै उपकरण नराख्ने र रातको समयमा खोलानाला तथा सडकमा फ्याँक्ने गरेको पाइएको हो। दमक नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नगेन्द्र भट्टराईले सडक तथा खोलानालामा फ्याँक्ने गरेको बताउनुभयो। 

दमकको मुख्य बेलडाँगी चोकको सडकको छेउमा र अर्को होटल लाइनमा नै ठुलो परिमाणमा प्रयोग भएका सिरिन्ज, औषधीका बट्टा तथा खोल फ्याँकिएको देखेपछि त्यहाँ पुग्दा अवस्था जटिल देखेको भट्टराईले बताउनुभयो। आसपासमा लगाएको सिसिटिभीको फुटेज हेरेर फ्याक्नेको पहिचान गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो। 

लायन्सकर्मी तथा सामाजिक अगुवा हेमसागर अधिकारीका अनुसार रातको समयमा ल्याएर सडकमा नै औषधीजन्य सामाग्री फाल्ने गरेको पाएपछि नगरपालिकालाई गुहार मागिएको हो। उहाँले भन्नुभयो, “धेरै पटक आफैँ हटाउन खोज्दा हात पनि घोचेको छ। यसमा स्थानीय सरकार र सरोकारवाला गम्भीर बन्नु पर्छ भनेर हामीले माग गरेका छौँ।” 

भट्टराईले भन्नुभयो, “हामीले नजिकका डेन्टलमा गएर पनि बुझेका छौँ, त्यहाँबाट फालिएको फोहोर सडक सरसफाइकर्मीले लैजाने उचित ठाउँमा नफ्याँकेको भन्ने जवाफ आएको छ। अस्पतालजन्य फोहोर बाहिर पठाउनुभन्दा पहिले त्यसको सङ्क्रमण रहित बनाउनुपर्ने स्वास्थ्यकर्मीले बताउने गरेका छन्,” भट्टराईले भन्नुभयो, “अस्पतालजन्य फोहोर रोगको कारक बन्न सक्छ र यस विषयमा गम्भीर हुनु पर्छ।”