• १५ वैशाख २०८१, शनिबार

फूलको पहाड बनाउन श्रमदान

blog

खोटाङ समाचारदाता 

खोटाङ, साउन १६ गते । खोटाङको धार्मिक तथा पर्यटकीय स्थल मझुवागढी क्षेत्रमा जन श्रमदानमार्फत फूलका बिरुवाहरू रोपिएको छ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा पर्ने मझुवागढी क्षेत्रमा शनिबार बिहान बृहत् जन श्रमदानमार्फत फूलका करिब १५ हजार बिरुवा रोपिएको हो। 

मझुवागढी क्षेत्रलाई फूलको पहाड बनाउने नगरपालिकाको अभियान अन्तर्गत अघिल्लो वर्ष पनि केही बिरुवा रोपिएका थिए। यस वर्ष भने फूलको पहाड बनाउने योजनालाई बृहत् रूपमा अघि बढाइएको छ। करिब २५० जनाको उपस्थितिमा दिक्तेल बजारको हाडडाँडादेखि कालिका भगवती मन्दिर परिसरसम्म फूलका बिरुवा रोपिएको छ। मझुवागढीको माथिल्लो क्षेत्रसम्म पुग्नका लागि हाडडाँडाबाट निर्माण गरिएको सिँढीको वरिपरि हुँदै मन्दिर एवं गुफाको परिसरमा करिब १५ प्रजातिका फूलका बिरुवा रोपिएका छन्। 

श्रमदानमा जिल्ला समन्वय समिति र नगरपालिकाका जनप्रतिनिधि, नगरपालिकासँगै विभिन्न कार्यालयका कर्मचारी, उद्योग वाणिज्य सङ्घ, सशस्त्र प्रहरी, नेत्र ज्योति सङ्घ, सुभद्रा मदन फाउन्डेसन, आमा समूह, टोल सुधार समितिलगायत वृद्धवृद्धादेखि युवाको उल्लेखनीय उपस्थिति रहेको थियो। मझुवागढी क्षेत्रलाई फूलको पहाड बनाउन उपस्थित व्यक्तिहरू खन्न र बिरुवा रोप्न उत्सुक देखिएका थिए। 

बिरुवा रोप्नका लागि सिँढी वरिपरिका झाडी केही समयअघि फडानी गरिएको थियो। सिँढीको वरिपरि केही ठाउँमा बिरुवा रोप्नका लागि खनिएको पनि थियो। अधिकांश ठाउँमा शनिबार नै खन्दै बिरुवा रोप्दै गरिएको छ। बिहान ६:३० देखि बिहान १० बजेसम्म श्रमदानमार्फत बिरुवा रोपिएको छ। विभिन्न सङ्घ संस्था, व्यक्तिमार्फत जिल्लाका विभिन्न ठाउँबाट फूलका बिरुवा सङ्कलन गरिएको नगरपालिकाले जनाएको छ। 

श्रमदानमा आउनुभएका भएका ७९ वर्षीय मानबहादुर कट्वाल घरबाटै फूलका बिरुवा बोकेर आउनुभएको थियो। आफूहरूले रोपेको फूलले मझुवागढी घुम्न आउने पर्यटकलाई स्वागत गर्ने भन्दै अभियानमा सहभागी हुन पाउँदा खुसी लागेको उहाँको भनाइ छ।  

मझुवागढी क्षेत्रमा एक पटक घुम्न आउनैपर्ने स्थान निर्माणको अभियानमा फूलको पहाड निर्माण गर्न सुरु गरिएको उपमेयर विसन राई बताउनुहुन्छ। कसैलाई घुम्न कहाँ जाने भन्ने प्रश्न गर्दा खोटाङको मझुवागढीको नाम आउने गरी उक्त क्षेत्रको सौन्दर्यीकरण गरिरहेको उहाँको भनाइ छ। 

नगरपालिकाले नीति तथा कार्यक्रममै समावेश गरेर अघिल्लो वर्ष केही बिरुवा रोपे पनि पूर्ण तयारी नपुग्दा संरक्षण गर्न नसकिएको मेयर तीर्थराज भट्टराईले बताउनुभयो। यस वर्ष दुई जना कर्मचारी नै राखेर फूलको संरक्षण गरिने उहाँको भनाइ छ। केही समयपश्चात् दिक्तेल बजारबाट ढकमक्क फूल फूलेको देख्न सकिने गरी काम अघि बढाइएको उहाँले बताउनुभयो। त्यस क्षेत्रका जग्गादातासँगको समझदारीमा फूलको पहाड बनाउने अभियान सुरु गरिएको उहाँको भनाइ छ। फूलको पहाड निर्माण गर्न असर गर्ने भएकाले त्यहाँ वरिपरि भएको ठुला रुख काट्ने जग्गादातासँग समझदारी भएको मेयर भट्टराईले बताउनुभयो।  

चालु आर्थिक वर्ष २०८०/८१ मा नगरपालिकाले मझुवागढी क्षेत्रको सौन्दर्यीकरण लागि एक करोड ५३ लाख रुपियाँ बजेट विनियोजन गरेको छ। अब चाँडै डिपिआर निर्माण गरेर त्यस क्षेत्रको सौन्दर्यीकरण गरिने उहाँले बताउनुभयो। 

कालिका भगवती मन्दिर, दुधेश्वर गुफालगायतको धार्मिक तथा पर्यटकीय स्थल रहेको मझुवागढी क्षेत्रमा दर्शन गर्न एवं घुम्न दैनिक पर्यटकहरू आउने गरेका छन्। चारैतिर देखिने अग्लो डाँडा रहेको त्यस क्षेत्रमा सबैतिरका दृश्य अवलोकन गर्न, पिकनिक खान, अध्ययन भ्रमण गर्न मानिसहरू जाने गर्छन। यस्तै कालिका भगवतीको भाकल पूरा गर्न दैनिकजसो जिल्लाका विभिन्न ठाउँका मानिसहरू आउने गरेका छन्।