काठमाडौँ, साउन १६ गते । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन सरकार पाँच वर्षसम्म कायम रहने बताउनुभएको छ। उहाँले अब गठबन्धन सरकार दायाँबायाँ नहुने स्पष्ट गर्नुभयो।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका कर्मचारीले खिर खाने दिन (साउन १५) का अवसरमा सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले राजनीतिक अस्थिरताको अन्त्य भएको बताउनुभयो। उहाँले अब राजनीतिक उतारचढावको स्थिति अन्त्य भएको उल्लेख गर्दै भन्नुभयो, “सबैलाई ढुक्कसँग काम गर्न अनुरोध गर्दछु। अहिलेको गठबन्धन सरकार पाँचै वर्ष रहने स्थिति भएको छ। के होला, कसो होला भन्ने दुबिधा छैन। अस्थिरता हुने स्थिति टुङ्गिएको छ।”
उहाँले वर्तमान सरकारले पूर्ण कार्यकाल काम गर्ने भएकाले दीर्घकालीन योजना तयार गरी अगाडि बढ्नुपर्ने बताउनुभयो। राजनीतिक अस्थिरतालाई मानसपटलबाट हटाउन कर्मचारीलाई उहाँले आग्रह गर्नुभयो। “प्रधानमन्त्री कार्यालयलाई अझ व्यवस्थित बनाउन लाग्नुपर्ने छ। नेपाल सरकारका सचिवहरूलाई प्रधानमन्त्री कार्यालयमा सरुवा हुने भएपछि हेपाइ भएको जस्तो स्थिति छ,” उहाँले भन्नुभयो, “खासमा विदेशमा प्रधानमन्त्री कार्यालयमा सरुवा हुन प्रतिस्पर्धा हुन्छ। नेपालमा यस्तो स्थिति छैन। अब प्रधानमन्त्री कार्यालयमा सरुवा हुँदा सम्मानित भएको महसुस गर्ने वातावरण बनाउनुपर्छ।”