• १६ वैशाख २०८१, आइतबार

विकासको नाममा अरुको सिको नगरौं : मन्त्री किराती

blog

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसहित अतिथिहरु । तस्बिर : प्रेम अधिकारी

प्रेम अधिकारी 

पशुपतिनगर (इलाम), १५ गते । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन विकासको नाममा बाह्य संस्कृति भित्र्यउन नहुने बताउनुभएको छ । इलामको सूर्योदय नगरपालिकाको आर्थिक वर्ष २०८०–८१ को बजेट सार्वजनिकीकरण कार्यक्रममा मन्त्री किरातीले पर्यटन बिकासको नाममा अन्य देशको सिको गर्न नहुने बताउनुभएको हो । 

उहाँले नेपालको रैथाने संस्कार संस्कृतिको बिकास गर्न सकेमात्र दिगो पर्यटन बिकास सम्भव हुने चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, ‘विदेशीको संस्कार संस्कृति कपी गर्नु भनेको हाम्रो मौलिकता सकिनु हो ।’ 

मन्त्री किरातीले प्रकृतिले जे मागेको छ, त्यो मात्र बिकासका नाममा गर्नुपर्ने बताउनुभयो । डाँडामा भ्यूटावर निर्माण गरेर प्रकृतिको  बिनास गर्न नहुने उहाँको भनाइ छ । उहाँले विकासका नाममा धरातल विर्सन नहुने भन्दै बिकासका लागि निर्माण गरिने संरचनाले पुर्खाको झल्को मेट्न नहुने बताउनुभयो । 

मन्त्री किरातीले पर्यटन मन्त्रालयसँग योजना भए पनि बजेट कम भएकाले काम गर्न समस्या भएको बताउनुभयो । युरोपमा करोडौं खर्च गरेर गएका भ्रमणले नेपालमा कति पनि पर्यटक ल्याउन नसकिने भन्दै पर्यटन क्षेत्रका लागि छिमेकी देशमा खर्च गर्ने हो भने पर्यटक ल्याउन सकिने उहाँको भनाइ छ । 

भ्रमणका नाममा करोडौं खर्च कार्यकर्ता र नातेदार घुमाउने होडबाजी चल्नेगरेको भन्दै जबसम्म नाता र कार्यकर्ता पोस्ने काम हुन्छ तबसम्म देशमा विकास नहुने बताउनुभयो ।

नेपालमा पर्यटन क्षेत्रको विकासले राज्यलाई ठूलो टेवा पुग्ने भन्दै यसको विकासका लागि नीतिगत रुपमा सुधार गर्न आवश्यक रहेको उहाँको बुझाइ छ । नीति एउटा र जनताले खोजेको अर्को भएका कारण बजेट निर्माणमा होडबाजी हुनेगरेको बताउनुभयो । 

बजेट सार्वजनिक कार्यक्रममा निर्वाचन क्षेत्र नम्बर १ का सांसद महेश बस्नेतले इलाम जिल्लाको पर्यटन विकासका लागि थुप्रै कार्यक्रम गर्न आवश्यक भए पनि यस बर्ष बजेट नछुट्टिनु दुःखद् रहेको बताउनुभयो ।

सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले नगरको विकासका लागि कति पनि कन्जुस्याइ नगरी काम गरिरहेको बताउनुभयो । कार्यक्रमा इलामका स्थानीय तह, सरकारी कार्यलयका प्रमुखको उपस्थिति रहेको थियो । कार्यक्रममा गोरखापत्रकर्मी प्रेम अधिकारीसहित साहित्यकार, पत्रकार, कृषक उद्यमी, जग्गादाता, कर्मचारी, उत्कृष्ट विद्यालय, प्रधानाध्यापक, विद्यार्थी, उपभोक्ता समिति, टोल लगायतका क्षेत्रमा काम गरेका २६ जनालाई सम्मानित गरिएको छ ।

सुर्योदय नगरपालिकाले आर्थिक वर्ष २०८०–८१ का लागि एक १ अर्ब २६ करोड २६ लाख ७९ हजार रुपियाँ विनियोजन गरेको जनाएको छ ।