बाबुराम कार्की
वराहक्षेत्र, साउन १५ गते । सप्तकोशी नदीको किनार क्षेत्रमा पर्ने सुनसरीको एउटा गाउँको रूपमा रहेको प्रकाशपुरको मङ्गलबारेका मदन चन्द्रवंशी प्रकाशपुरका लागि कुनै नौलो नाम हैन। साना बोली फुटेका केटाकेटीदेखि कपाल फुलेका बुढापाकाहरूले समेत मदनलाई चिन्छन्। उहाँले यो परिचय कुनै नौलो काम गरेर कमाउनुभएको हैन। मदनको परिचय चटपटे बनाउने सिपले बनाएको हो।
२०४२ मा बाबुसँग साथ लागेर १२ वर्षको उमेरदेखि नै चटपटे बेच्दै आउनुभएको चन्द्रवंशीको आधा जीवन चटपटे घोलेरै बितिसकेको छ। त्यही चटपटे बेचेर उहाँले लाखौँको सम्पत्ति जोडिसक्नुभएको छ।
दैनिक दिउँसो बेच्ने चटपटेका लागि चटपटे बनाउँदा चाहिने आवश्यक सामग्री बिहानै जुटाउनु मदनको दैनिकी हो। पहिला टाउकामा चटपटेको बाकस बोकेर हटियाहटिया डुलाएर बेच्ने गरेका मदनले २० वर्षदेखि ठेला बनाएर चटपटे बेच्दै आएको बताउनुभयो।
चन्द्रवंशीले बनाएको चटपटे खाँदै आएका प्रकाशपुर, राजावासका युवापुस्ता र स्कुले केटाकेटी चटपटेको कुरा गर्ने बित्तिकै मदनलाई सम्झन्छन्। गाउँमै बसेर तीन दशकदेखि निरन्तर चटपटे बेच्दै आएका मदनले चटपटे मात्रै बेचेका छैनन्, त्यही चटपटेको व्यापारबाट प्रकाशपुरमा १३ कट्ठा जग्गासमेत जोडनुभएको छ।
मदन भन्नुहुन्छ, “सानो व्यवसाय भनेर हेला गर्न नहुने र निरन्तर लागिराखे त्यहीबाट जीवनलाई सफल बनाउन सकिन्छ। यही चटपटे बेचेरै चार जना छोराछोरीलाई पनि पढाएको छु। जेठो छोराले १२ कक्षा सकेको छ। माइलो स्नातक पढ्दै छ। कान्छो १२ मा पढ्दै छ। एक छोरीको एसइई पासपछि बिहे गरिसकेको छु। एक करोड पर्ने तीनतले पक्का घर बनाएको छु। मेरो अहिलेसम्मको आम्दानीको स्रोत भनेकै त्यही चटपटे बेचेर आउने रकम नै हो।”
मदनलाई चटपटे व्यापारको सुरुवाती दिनमा यसबाट आम्दानी गरेर घरजग्गा जोड्छु भन्ने विश्वास लागेको थिएन तर निरन्तर रूपमा लगनशील भएर लागिपरे चटपटे व्यापारजस्तो सानो व्यवसाय गर्दा पनि सफलता हात पर्ने अनुभव उहाँसँग छ।
मदनले भन्नुभयो, “मसँगै पढेका साथी पैसा कमाउनकै लागि घरपरिवारबाट टाढा भएर वर्षौं अर्काको मुलुकमा पसिना बगाउँदै छन् तर आफ्नो परिवारकै साथमा रहेर सानै पेसा गरेर पनि म सन्तुष्ट छु। विदेशमा वर्षौंदेखि बस्ने साथीभाइले पनि त्यही घरजग्गा जोडे मैले पनि चटपटे व्यवसायको आम्दानीले थोरै भए पनि त्यही घरजग्गा जोडेको छु।”
वराहक्षेत्र–१०, प्रकाशपुर बजारको चुडामणि चोकमा ठेला लिएर बस्ने गरेका मदनको ठेलामा यसो हेर्दा खास सामग्री केही देखिँदैन। सामान्य भुजा, चना, भुजिया, मटर, भटमास, मसला, नुन, खोर्सानी, टमाटर, कागतीलगायतका सामग्रीलाई नै मिसाएर चटपटे बनाएर प्रकाशपुरका बासिन्दालाई चटक्क मुख मिठ्याउने चटपटे बनाउनु उहाँको दैनिकी हो। दैनिक रूपमा चटपटे बेचेर त्यसैबाट आम्दानी गरेको रकम स्थानीय सहकारीमा बचत गर्दै आएको छु।
त्यसो त चोकमा ठेला लिएर चटपटे बेच्नेको सङ्ख्या काम छैन। हसिला र मिजासिला मदन चटपटेका पारखीहरू लोभ्याउने चटपटे बनाउने भएकैले मदनकोमा चटपटे खान सधैँ आउने गरेको वराहक्षेत्र–१० का वडाध्यक्ष तेजबहादुर गुरुङले बताउनुभयो। गुरुङले भन्नुभयो, “मदन दाइको चटपटेमा सबै सामग्री सन्तुलन मिलाएर हाल्ने हुँदा चट्ट परेको चटपटे बनाउने भएकैले उहाँकोमा बढी भिड लाग्ने गरेको हो।”
दैनिक सात सयको सामान हाल्दा एक हजार पाँच सय देखि झन्डै तीन हजारसम्म आम्दानी गर्ने गरेका उनीलाई पछिल्लो समय सबै थोकको महँगी बढ्दै गएकाले अहिले पहिलाको जस्तो चटपटेमा फाइदा नहुने मदन सुनाउनु हुन्छ। “चटपटेमा पहिला जस्तो नाफा छैन अहिले रोजीरोटी मात्रै बस्ने गरेको छ तर पनि व्यवसाय निरन्तर रूपमा गर्दै आएको छु।” मदनको परिवारलाई गाउँ घरमा चटपटेको परिवार भनेर चिनिन्छ। मदनको दाजुहरू पनि चटपटे बेच्दै आउनुभएको छ। सानो काम र ठुलो काम छुट्याउनेलाई मदन उदाहरण हुन्। चटपटे बेचेरै मदनले सानो कामबाटै लाखौँ कमाएर घरपरिवार खुसी राखेका छन्।