• २० असोज २०८१, आइतबार

त्रियुगा पुल एक वर्षमा निर्माण सम्पन्न गर्न यातायातमन्त्रीको निर्देशन

blog

अलपत्र परेको त्रियुगा नदीमाथिको पुल तत्काल निर्माणको पहल गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई ध्यानाकर्षण पत्र बुझाउनुहुँदै उदयपुरका जनप्रतिनिधि ।

काठमाडौं, साउन १४ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले १३ वर्षदेखि अलपत्र परेको त्रियुगा नदीमाथिको पुल एक वर्षभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको छ । 

उहाँले आज सडक विभागको पुल महाशाखा र निर्माण व्यवसायीलाई पुल निर्माण चाँडो सम्पन्न गर्न निर्देशन दिनुभएको हो । निर्माण कम्पनीले सम्पन्न गरेर हस्तान्तरण नहुँदै भत्किएको सो पुल भत्किएको दुई वर्षसम्म अलपत्र भएपछि उदयपुरबाट प्रतिनिधित्व गर्ने सांसद, स्थानीय जनप्रतिनिधि ध्यानाकर्षणका लागि आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुगेका थिए । मन्त्री ज्वालाले निर्माण व्यवसायीलाई पनि मन्त्रालयमा बोलाएर छलफल गर्नुभएको छ । 

त्रियुगाको पुल एक वर्षभित्र सक्नेमा ढुक्क रहन मन्त्री ज्वालाले सरोकारवालालाई आग्रह गर्नुभयो । निर्माण सुरु भएको १२ वर्षसम्म नागरिकले पुलमा हिड्न नपाउनु दुर्भाग्य भएको उहाँको भनाइ छ । मन्त्रालय, स्थानीय जनप्रतिनिधि र निर्माण व्यवसायीको संयुक्त प्रयासमा यो पुलको निर्माण एक वर्षभित्र सकिने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यसअघि कमला र जब्दीघाटको पुलबाटै पुराना ठेक्कामा एक्सन लिन थालिएको छ, यसमा पनि त्यही गरिनेछ ।”

मन्त्रालयका कार्यवाहक सचिव अर्जुन थापाले ‘क्रोनिक’ ठेक्काका रुपमा रहेका पुल समस्या समाधान गरेर बनाउन लागिएको बताउनुभयो । हाल देशभर साढे चार हजार पुलको निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “त्रियुगा, कमला र जब्दीघाट तीन पुलमा बढी समस्यामा थिए, त्यसको हल पनि हामीले प्राविधिक रुपमा खोजी सकेका छौँ ।”  

उदयपुरको चौदण्डीगढीको शिवाई र बेल्ही जोड्ने त्रियुगा पुल वर्षौँदेखि अलपत्र छ । अलपत्र पुलका विषयमा छलफल गर्न उदयपुरका सांसद तथा पूर्वमन्त्री नारायण खड्कासहितको टोली मन्त्रालय पुगेको थियो । सांसदसहितको टोलीलाई मन्त्री, कार्यवाहक सचिव अर्जुन थापा, सडक विभागका महानिर्देशक सुशील बाबु ढकालसहितको छलफलमा निर्माण कम्पनीले एक वर्षभित्र काम सक्ने प्रतिबद्धता जनाएको छ ।

तीन वर्षभित्र काम सक्ने गरी महालक्ष्मी लोकप्रिय निर्माण कम्पनीले विसं २०६७ मा ठेक्का सम्झौता भएको थियो । तीन वर्षभित्र सक्ने लक्ष्य लिएको पुल ११ वर्षपछि निर्माण सम्पन्न भएको थियो । निर्माण सम्पन्न भएर हस्तान्तरण नगरिँदै विसं २०७८ मा पुलका तीन स्पान र दुई पिलर भत्केको थियो । रासस