• १३ असोज २०८१, आइतबार

कोशीमा सहमतीय सरकार उत्तम विकल्प : मन्त्री किराती

blog

पत्रकार सम्मेलनमा मन्त्री सुदन किरातीसहित सहभागी । तस्बिर : लिलाराज खड्का

लीलाराज खडका 

बिर्तामोड, साउन १४ गते । नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले कोशी प्रदेश सरकारमा सर्वदलीय र सहमतिको सरकार नै उत्तम विकल्प भएको बताउनुभएको छ । 

आइतबार बिर्तामोडमा प्रेस सेन्टर झापाद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले देश सङ्कटमा परेका बेला सहमतीय सरकारले मात्रै निकास निस्कने भन्दै राणा शासन ढाल्नेदेखि लिएर देशमा परेका सबै सङ्कटलाई पार लाउन समेत सहमतीय सरकार जरुरी रहेको बताउनुभयो ।

अबको कम्तीमा १० वर्षसम्म सहमतिको सरकार बनाएर अघि बढ्नुपर्ने  मन्त्री किरातीको भनाइ छ । “हामीले संविधान पनि मिलेरै बनाएको हो, कोशी प्रदेशको समस्या पनि मिलेरै समाधान गर्ने हो” मन्त्री किरातीले भन्नुभयो, “कोशी प्रदेशमा सङ्कट आएको बताउँदै सहमतीय सरकार वा सभामुखलाई राजीनामा गर्न लगाएर भए पनि कोशी प्रदेशको सङ्कट टार्नुपर्छ ।” 

देशको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लगातार सुन तस्करी भएर देशकै  विश्वभरमा बदनामी भइरहेको भन्दै यसको कडा निगरानीमा सरकार लागिसकेको मन्त्री किरातीले बताउनुभयो । विमानस्थलमा विभिन्न विभाग हुने भन्दै जुन विभागबाट समस्या निम्तिएको हो, त्यसलाई सुधार गर्न सरकार लागिपरिसकेको बताउनुभयो ।  

नागरिक उड्यनमन्त्री किरातीले नेपाल वायुसेवा निगम सेवा सुविधा विस्तारमा मन्त्रालय लागिरहेको भन्दै हाल सञ्चालनमा रहेका कतिपय जहाजहरू हटाएर अबको केही दिनमा ३ वटा नयाँ र २ वटा पुराना नेपाली ध्वजावाहक जहाजहरू नेपालमा भित्रिने बताउँदै ती जहाजहरूले देशभित्रै पनि सामान ढुवानी र नेपालका उत्पादित सामग्रीहरू विदेशमा निर्यातका लागि समेत जहाज सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । 

यसबाट देशलाई आर्थिक समृद्धिको बाटोमा लैजाने विश्वास व्यक्त गर्नुभयो ।   सबैले मिलेर काम गर्दा घाटामा गइरहेको नागरिक उड्डयन मन्त्रालय निरन्तर नाफामा गएको बताउँदै सबैको साथ र सहयोगबाट मात्रै यो सम्भव भएको बताउनुभयो ।