• २० असोज २०८१, आइतबार

बाढीग्रस्त क्षेत्रमा तटबन्ध निर्माण गर्न योजना माग

blog

मन्त्री शक्तिबहादुर बस्नेतसमक्ष तटबन्ध योजना माग गरिएको पत्र बुझाइँदै । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन १४ गते । ताप्लेजुङमा गत असार पहिलो साता भीषण वर्षासँगै नदी तथा खोलामा आएको बाढीले जोखिम बनाएको क्षेत्रमा तटबन्ध निर्माणका लागि योजना माग गरिएको छ । 

तमोर नदी, काबेली खोला र इन्द्रावती खोलामा आएको बाढीले उच्च जोखिम बनाएको बाढीग्रस्त क्षेत्रमा तटबन्ध निर्माण गर्न सरकारसँग योजना माग गरिएको हो । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज खेलप्रसाद बुढाक्षेत्रीको नेतृत्वमा गएको एक टोलीले तटबन्ध निर्माण योजनाका लागि सङ्घीय सरकारसँग आवश्यक बजेट माग गरिएको छ । 

बुढाक्षेत्री नेतृत्वको टोलीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतलाई मन्त्रालयमै भेटेर बजेटसहितको योजना मागपत्र बुझाएको छ । मन्त्री बस्नेतलाई बुझाएको योजना माग गरिएको पत्रमा सदरमुकाम फुङ्लिङ पछिको जिल्लाकै दोस्रो ठुलो व्यापारिक केन्द्रको रूपमा रहेको मेरिङ्देन गाउँपालिका –३ खाम्लुङको दोभान बजार, फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमको सिंवाबजार संरक्षण गर्न तटबन्धका लागि बजेट माग गरिएको छ । 

यस्तै, सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनको तटीय बस्ती र सिदिङ्वा गाउँपालिका–३ आँखोपको खिर्लाबोटे क्षेत्र संरक्षणका लागि तटबन्ध योजना माग गरिएको छ । तमोर नदी र मैवाखोलामा आएको बाढीले दोभान बजारलाई जोखिम बनाएको छ भने सिंवा बजारमा पनि तमोर नदीको तटीय क्षेत्रमा रहेको छ । 

त्यस्तै, याम्फुदिन बस्तीलाई काबेली खोलामा आएको बढीले जोखिम बनाएको छ भने आँखोपको खिर्लाबोटे क्षेत्र पाँचथरसँगको सिमाना भई बग्ने इन्द्रावती खोलामा आएको बाढीका कारण जोखिमयुक्त बनेको छ । 

सो बाढीग्रस्त क्षेत्रमा रहेका बजार तथा बस्तीको दीर्घकालीन सुरक्षाका लागि पक्की (आरसीसी) तटबन्ध निर्माण गर्न योजना माग गरिएको माओवादी नेता बुढाक्षेत्रीले बताउनुभयो । उहाँका अनुसार ताप्लेजुङवासीको तर्फबाट माग गरिएको बाढीग्रस्त क्षेत्रको सुरक्षाका लागि तटबन्ध निर्माण योजनाप्रति मन्त्री बस्नेत सकारात्मक रहनुभएको छ ।