राममणि दाहाल
हेटौँडा, साउन १४ गते । बागमती प्रदेश सरकारले प्रदेश इन्जिनियरिङ र स्वास्थ्य सेवाअन्तर्गत दुई जना कर्मचारीलाई एघारौँ तहमा बढुवा गरेको छ ।
बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आइतबार बसेको मन्त्रीपरिषद् बैठकले लोकनाथ रेग्मी र नारायणबहादुर कार्कीलाई एघारौँ तहमा बढुवा गरेको हो ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सचिव विनोदकुमार भट्टराईले प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा १५ को उपदफा १ बमोजिम प्रदेश स्वास्थ्य र इन्जिनियरिङ सेवाअन्तर्गत एघारौँ तहमा बढुवा गरेको जानकारी दिनुभयो । उहाँका अनुसार दसौँ तहका जनस्वास्थ्य प्रयोगशाला, धुलिखेलका निमित्त निर्देशक कार्की र यातायात पूर्वाधार निर्देशनालय हेटौँडाका निमित्त निर्देशक रेग्मीलाई बढुवा समितिको सिफारिसमा एघारौँ तहमा बढुवा गरिएको हो ।
यस्तै, मन्त्रीपरिषद् बैठकले प्रदेशको लागि आवश्यक अस्थायी कर्मचारीको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । सचिव भट्टराईले प्रदेशको श्रमसम्बन्धी नीतिसमेत स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।