• १४ मंसिर २०८१, शुक्रबार

पहिरो पीडितका लागि टहरा निर्माण कार्य तीव्र

blog

मैवाखोला गाउँपालिकामा एकीकृत बस्ती बसाउन निर्माण गरिँदै आएको अस्थायी टहरा । तस्बिर: गोरखापत्र

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन १४ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बाढी पहिरोका प्रभावित परिवारका लागि अस्थायी टहरा निर्माणको कार्य तीव्र पारिएको छ । पहिरोको उच्च जोखिममा परेका बस्तीलाई एकीकृत बस्तीका रूपमा सुरक्षित ठाउँमा स्थानान्तरण गर्नका लागि अस्थायी टहरा निर्माण कार्यलाई तीव्र पारिएको हो ।

मैवाखोला गाउँपालिका–४ साँघु ओदक बस्तीका ६१ सहित ६४ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्नका लागि हाल धमाधम अस्थायी टहरा निर्माण गरिँदै आएको छ । वडा ३ साँघुकै निर्माणाधीन मदन भण्डारी रङ्गशाला (खेल मैदान) को जग्गामा अस्थायी टहरा निर्माण गरिँदै आएको र तीन दिनभित्र १५ वटा टहरा निर्माण गरी सकिएको पालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो ।

अध्यक्ष वनेमका अनुसार टहरा निर्माण कार्य तीव्र रूपमा भइरहेको छ । श्रमदानमार्फत निर्माणको कार्य गरिँदै आएको र गाउँपालिकावासी तथा अन्य श्रमदानमा सहयोग गर्न इच्छुक सबैलाई सहभागिताका लागि पनि उहाँले आग्रह गर्नुभएको छ । पहिरो प्रभावित ६४ परिवारका लागि ६४ वटै अस्थायी टहरा निर्माण गर्ने योजना बनाएर निर्माण कार्य सुरु गरिएको पनि उहाँले बताउनुभयो ।

गत असार पहिलो साता भीषण वर्षासँगै गएको पहिरोले साँघुको ओदक बस्ती उच्च जोखिममा परेको हो । सो समयको बाढी पहिरोले अन्य थुप्रै भौतिक संरचनामा क्षति पुर्‍याउनुका साथै किसानले लगाएको बालीनालीमा नोक्सानी गरेको थियो ।