• १५ चैत २०८०, बिहिबार

कुल गार्हस्थ उत्पादनमा गण्डकीको हिस्सा पाँच खर्ब

blog

काठमाडौँ, साउन १४ गते । कुल गार्हस्थ उत्पादनमा गण्डकी प्रदेशको हिस्सा चार खर्ब ८२ अर्ब रहेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको गण्डकी प्रदेशको आर्थिक तथा वित्तीय अवस्थाबारे एक सर्वेक्षणका अनुसार समग्र नेपालको कुल गार्हस्थ उत्पादन ५३ खर्ब ८१ अर्ब रहेकामा गण्डकी प्रदेशको हिस्सा चार खर्ब ८२ अर्ब रहेको देखिएको हो । सर्वेक्षणका अनुसार आर्थिक वृद्धिदर ३.२६ रहेको छ भने प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (अमेरिकी डलरमा १४९२) रहेको छ ।

गण्डकी प्रदेशको कुल गार्हस्थ उत्पादनमा प्राथमिक क्षेत्रको २६ प्रतिशत, द्वितीय क्षेत्रको १७ प्रतिशत र तृतीय क्षेत्रको ५६ प्रतिशत हिस्सा रहेको राष्ट्र बैङ्कको सर्वेक्षणमा उल्लेख छ । प्रदेशमा गत आर्थिक वर्षसम्म प्रतिव्यक्ति आय एक हजार ४९२ अमेरिकी डलर पुगेको छ ।

गण्डकी प्रदेशका बैङ्क तथा वित्तीय संस्थाले गत आवको अन्त्यसम्म चार खर्ब ३९ अर्ब रुपियाँ निक्षेप सङ्कलन गरी तीन खर्ब ५१ अर्ब रुपियाँ बढी कर्जा लगानी गरेका छन् । गण्डकी प्रदेशमा कुल निक्षेप चार खर्ब ३९ अर्ब ७० करोड अर्थात् ८.०२ प्रतिशत भएको छ । त्यस्तै कर्जा लगानी तीन खर्ब ५१ अर्ब ९२ करोड अर्थात् ७.२५ प्रतिशत, सहुलियत कर्जा २८ अर्ब २८ करोड अर्थात् १३.७९ प्रतिशत र व्यवसाय जीवन रक्षा कर्जा ९१ करोड रुपियाँ मात्रै लगानी भएको राष्ट्र बैङ्कको उक्त सर्वेक्षणमा उल्लेख छ ।

यस्तै गण्डकी प्रदेशमा बैङ्क तथा वित्तीय संस्थाको शाखा सङ्ख्या एक हजार ४२४ वटा अर्थात् १२.२३ प्रतिशत रहेको छ । यसमध्ये ‘क’ वर्गका वाणिज्य बैङ्कको शाखा ६०७, ‘ख’ वर्गका विकास बैङ्कको शाखा १९०, ‘ग’ वर्गका वित्त कम्पनीको शाखा ३७ र ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाको शाखा ५९० वटा रहेका छन् ।

प्रतिशाखा जनसङ्ख्या (क, ख, ग र घ) गरी एक हजार ७३२ रहेको छ । गण्डकी प्रदेशमा वित्तीय पहुँच अन्तर्गत मोबाइल बैङ्किङको सङ्ख्या २३ लाख २१ हजार १९२ अर्थात् ११.३६ प्रतिशत, इन्टरनेट बैङ्किङ सङ्ख्या एक लाख ९८ हजार १७५ अर्थात् ११.०२ प्रतिशत, डेबिट कार्ड सङ्ख्या ११ लाख ३८ हजार अर्थात् ९.३९ प्रतिशत, क्रेडिट कार्ड सङ्ख्या १७ हजार २३५ अर्थात् ६.०४ प्रतिशत र प्रिपेड कार्डको सङ्ख्या एक हजार ८४६ अर्थात् १.४८ प्रतिशत रहेको छ ।