चन्द्र पन्दाक
ताप्लेजुङ, साउन १३ गते। लम्पी स्किन रोगको सङ्क्रमणबाट हालसम्म ताप्लेजुङमा दुईसय बढी पशुचौपाया मरेका छन्। केही महिना अघिदेखि जिल्लामा लम्पी स्किन रोग देखा परेको र यो रोगको सङ्क्रमणबाट गाई, गोरु, भैँसी लगायतका पशुचौपाया मरेका हुन्।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाँचथरका अनुसार लम्पी स्किन रोग सङ्क्रमणका कारण हालसम्म ताप्लेजुङमा २०७ पशुचौपाया मरेका छन्। लम्पी स्किन रोग फैलन थालेपछि सबैभन्दा गाई–गोरु सङ्क्रमित भएका र सोहीअनुसार गाई र गोरु नै बढी मरेका केन्द्रका प्रमुख डाक्टर मनोजकुमार महतोले जानकारी दिनुभयो।
डाक्टर महतोका अनुसार लम्पी स्किन सङ्क्रमणबाट ताप्लेजुङमा २०६ वटा गाई र गोरु तथा एउटा भैँसी मरेको छ। ताप्लेजुङका स्थानीय तहमध्ये मिक्वाखोला गाउँपालिकामा लम्पी स्किन सङ्क्रमणबाट सबैभन्दा बढी पशुचौपाया मरेका छन्। मिक्वाखोलामा १०२ वटा पशुचौपाया (गाई–गोरु) मरेका भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ।
फुङ्लिङ नगरपालिकामा २२ वटा, पाथीभरा याङ्वरक गाउँपालिकामा १२ वटा, मेरिङ्देनमा तीनवटा, मैवाखोला गाउँपालिकामा ३३ वटा, सिरिजङ्घामा २० वटा पशुचौपाया मरेका छन्। यस्तै लम्पी स्किन रोग सङ्क्रमणले आठराई त्रिवेणी गाउँपालिकामा १० वटा र सिदिङ्वा गाउँमा एउटा भैँसीसमेत पाँचवटा पशुचौपाया मरेका छन्। यता फक्ताङ्लुङ गाउँपालिकामा भने लम्पी स्किन रोग सङ्क्रमण देखिए पनि हालसम्मका तथ्याङ्कमा पशुचौपाया नमरेका केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार ताप्लेजुङ र पाँचथर गरी दुई जिल्लामा अहिलेसम्म २८ हजार ६२५ वटा पशुचौपायालाई लम्पी स्किन रोगविरुद्धको खोप लगाई सकिएको छ भने खोप लगाउने क्रम जारी रहेकोसमेत केन्द्रले जनाएको छ। यहाँको फुङ्लिङ नगरपालिका, सिरिजङ्घा गाउँपालिका लगायतका स्थानीय तहमा हाल पशुचौपायामा लम्पी स्किन रोगविरुद्धको खोप लगाउने कार्य निरन्तर चलिरहेको छ।
मैवाखोला गाउँपालिका, सिदिङ्वा गाउँपालिका, मिक्वाखोला गाउँपालिका लगायतका स्थानीय तहले केही दिन पहिले नै एक चरणको खोप अभियान सञ्चालन गरिसकेको जनाइएको छ। आवश्यकताअनुसार लम्पी स्किन रोगविरुद्धको खोप अभियानलाई जारी राखिएको पनि ती स्थानीय तहले जनाएका छन्। पशुचौपायामा रोगविरुद्धको खोप अभियान चलाएपछि सङ्क्रमण केही नियन्त्रण भएको स्थानीयको भनाइ छ।