• ५ वैशाख २०८१, बुधबार

देशभरका स्पाइन सर्जन काठमाडौँमा

blog

ढाडको बाँगोपनाको उपचार पद्धति, नविनतम प्रविधि, आगामी रणनीतिबारे छलफल गर्न काठमाडौंमा स्पाइन सर्जनहरुको भेला । तस्बिर : गोरखापत्र

काठमाडौं, साउन १३ गते । ढाडको बाङ्गोपनाको उपचार गरिरहेका स्पाइन सर्जनहरू काठमाडौँमा भेला भएका छन् । ढाडको बाङ्गोपनाको उपचार पद्धति, नवीनतम प्रविधि, आगामी रणनीतिबारे छलफल गर्न चिकित्सकहरू काठमाडौँमा भेला भएका हुन् ।

एसोसिएसन अफ स्पाइन सर्जन अफ नेपालले गरेको कार्यशालामा देशभरबाट ८० बढी चिकित्सकहरू भेला भएका हुन् । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर समेत रहनुभएका एसोसिएसन अफ स्पाइन सर्जन अफ नेपालका अध्यक्ष डा.विनोद बिजुक्छेले नेपालमा ढाडको बाङ्गोपना उपचार सेवा उत्कृष्ट भएको जानकारी दिने उद्देश्यले कार्यशाला आयोजना गरिएको बताउनुभयो ।

‘‘ढाडको बाङ्गोपना भनेको अहिले नेपालमा जल्दोबल्दो समस्या पनि हो । ढाडको बाङ्गोपनाको उपचार नेपालमा सम्भव छ । नेपालमा हामीले सक्सेसफुल्ली गरिरहेका छौँ । यसको उपचारको रिजल्ट पनि विश्वको उत्कृष्ट अस्पतालको जस्तै छ । नेपालमा उपचार पनि त्यही लेभलमा हुन्छ भन्ने जनचेतना जगाउन पनि कार्यशालाको आयोजना गरिएको हो ।,’’ उहाँले भन्नुभयो, ‘‘दोस्रो अब आउने पुस्तालाई ढाडको बाङ्गोपनाको उपचार कसरी गर्ने ? यसको उपचार पद्धति के के छन् ? भन्ने कुराको तालीम दिनका लागि हामीले एसोसिएसन अफ स्पाइन सर्जन अफ नेपालको आयोजनामा ग्राण्डी अन्तर्राष्ट्रिय हस्पिटलमा एक दिने कार्यशाला गरेका हौँ ।’’

ढाड बाङ्गिने समस्या १६ वर्ष मुनिका बच्चाहरूमा देखिने विभिन्न अध्ययनहरूले देखाएको छ । कुल जनसङ्ख्याको ०.५ प्रतिशतमा अलिकति ढाड बाङ्गिन्छ । तर बाङ्गिने पनि २० डिग्रीभन्दा माथिको ढाड बाङ्गिएको छ भने त्यसले समस्या दिने चिकित्सकहरूले बताउँदै आएका छन् ।  ढाड बाङ्गिने समस्या छोराहरूमा भन्दा छोरीहरूमा बढी देखिने पनि अध्ययनहरूले देखाएको डा.बिजुक्छेले बताउनुभयो ।

धेरै जसो १० वर्षको उमेर गइसकेपछि बालिकाहरूलाई देखिने गरेको छ । ढाडको बाङ्गोपनाको समस्या सात महिला बराबर एक पुरुषमा देखिन्छ । उहाँले अस्पतालहरूबाट ढाडको बाङ्गोपनाको उपचार नेपालमा सर्वसुलभ रूपमा रहेको र सफल उपचार हुँदै आएको बताउनुभयो । बिजुक्छेले कार्यशालामा अब आउने पुस्तालाई ढाडको बाङ्गोपना उपचार कसरी गर्ने ? उपचार पद्धति केके छन् भन्ने विषयमा छलफल भएको बताउनुभयो ।

‘‘कार्यशालामा देशभरका चिकित्सकहरूको सहभागिता छ । अर्थोपेडीक सर्जन जो स्पाइन सर्जरी गर्न इन्ट्रेस्ट राख्नुहुन्छ । जसले भविष्यमा म स्पाइन सर्जरी गर्छु भनेर इन्ट्रेस्टेड हुनुहुन्छ । उहाँहरूलाई हामीले समेटेका छौँ । यो स्कोलीओसीस सर्जरी भन्ने कुरा धेरै स्पाइन सर्जनहरूले गरिरहेका छन् । नेपालमा सीमित चिकित्सकहरूले मात्रै स्कोलीओसीस सर्जरी गर्छन् । तर नेपालमा डिमान्ड धेरै नै भइसक्यो । नेपालको जनताले पनि सहज रूपमा यो सुविधा पाउनुपर्छ, काठमाडौँमै आउन नपरोस् ।,’’ डा.बिजुक्छेले भन्नुभयो,‘‘काठमाडौँ बाहिर पनि यसको सेवा सुविधा होस् भन्ने हिसाबले चिकित्सकहरूलाई तालिम दिएर प्रोबलम(समस्या)लाई एड्रेस गर्ने उद्देश्य यो तालिमको हो । यो तालिममा अर्थोपेडिक्स रेजीटेन्सहरु, अर्थोपेडिक्स सर्जन र स्पाइन सर्जरी प्रयाक्टिस गरिरहेकाहरू कार्यशालामा सहभागी हुनुहुन्छ ।’’

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का उपाध्यक्ष समेत रहनुभएका हाडजोर्नी तथा मेरुदण्ड रोग विशेषज्ञ डा.गौरवराज ढकालले ढाडको ढाड बाङ्गिने रोग धेरैजसो बालिकाहरूमा देखिने गरेको बताउनुभयो । उहाँले धेरैजसो १६ वर्षमुनिका बालिकामा ढाड बाङ्गिने रोग देखिने भन्दै रोकथामका लागि उपचारको उपाय अपनाइ सतर्क गराउँदै आएको जानकारी दिनुभयो ।

‘‘ढाड बाङ्गिने रोग धेरैजसो १६ वर्ष मुनिका बच्चाहरूमा देखिने रोग हो । नर्मल पपुलेसनको ०.५ प्रतिशतमा अलिकति ढाड बाङ्गिन्छ । तर बाङ्गिने पनि २० डिग्रीभन्दा माथिको ढाड बाङ्गिएको छ भने त्यसले प्रोबलम दिनसक्छ भन्ने बुझ्नुपर्छ । त्यसैकारण जनचेतना पनि फैलाउँदै आएका छौँ ।,’’ विशेषज्ञ ढकालले भन्नुभयो, ‘‘विद्यालय सचेतना कार्यक्रम पनि गरिरहेका छौँ । अहिले हामीले जुनीयर चिकित्सकदेखि सिनियर चिकित्सकसम्म एकेडेमिक एक्टीभिटीज गरिरहेका छौँ ।’’

उहाँले थप्दै भन्नुभयो, ‘‘नेपालमा बच्चा जन्मिसकेपछि आमाहरूले ढाडमा मालिस गरिदिने तेल लगाउने बानी हुन्छ । तेल लगाउँदाखेरी घोप्टो पारेर बच्चालाई तेल लगाइन्छ । त्यतिखेर ढाडमा आफ्नो औँलाले टाउकोदेखि तलसम्म ढाड कतै बाङ्गो छ की सिधा छ भनेर विचार गर्ने गर्नुपर्छ । कतै सुन्निएको जस्तो छ की भनेर ख्याल गर्नुपर्छ । बालिकाहरू विद्यालय जान थालेपछि अभिभावकले ढाड पछाडिबाट हेर्नुपर्छ । एउटा कुम अर्को कुमभन्दा माथि छ की ? ढाड अलिकति बाङ्गिएको छ की, सबै ठिक छ भनेर हेर्नुपर्छ । शिक्षकले पनि अब्जर्भ गर्नुपर्छ ।’’

ढाडको बाङ्गोपनाको उपचार समयमा गरिएन भने फोक्सो र मुटुमा समस्या आउन सक्ने चिकित्सकहरू बताउँछन् ।