• १० मंसिर २०८१, सोमबार

द्विविधा [कथा]

blog

रामनाथ घर नजिकैको चौतारीमा वरपिपलको छहारीमुनि शीतल तापिरहेका थिए । उनी ढुङ्गाको पर्खालमा गोडा झुन्ड्याएर वरको बोटलाई ढाड पछाडि पारी बसेका थिए । धनबहादुर ओरालो झर्दै त्यही चौतारीमा एक्कासि टुप्लुक्क आइपुग्यो ।  उसले ख्वाक्क खोक्यो र लौरो भुइँमा राख्तै उनकै छेउमा बस्तै भन्यो, “सन्च छैन भन्थेउ त बाजे, आज पनि आएछौ त शीतल ताप्न ।” 

रामकृष्णले पुलुक्क धनबहादुरको अनुहारमा हेरे र भने, “आएँ त, नआएर कता जाम, समय काट्नु प-यो नि ! यहाँ भए तिमीहरू साथीभाइ भेटिन्छौ, गफगाफ गरेर समय काटिन्छ भनेर । के गर्नु धनबहादुर, घरमा कोसँग बोल्नु, बुढीको आफ्नै दुःख छ, उनका आफ्नै गुनासा छन्, मेरा आफ्नै दुःख छन् । यहाँ आयो भने बरु कोही न कोही कुरा सुनिदिने मानिस त भेटिन्छ भनेर अल्छी लागेपछि दिन काट्न यतै आउँछु ।”

“अब एक्लै यता नबस बाजे, नाति, नातिनीसँग समय काट्न सजिलो हुन्छ, छोरा भए ठाम जाऊ,” धनबहादुरले सम्झाए ।  “कुरा त ठिकै भन्यौ, धनबहादुर । धन सम्पत्तिले मात्र मन मान्दो रहेनछ, छोराछोरीसँगै बस्ने रहर त हुँदोरहेछ तर घरको ढोका ड्याम्म लगाएर कसरी जानु गाईबस्तु छोडेर ! फेरि छोराले काठमाडौँ आउ पनि त भनेको छैन नि,” रामकृष्णले आफ्नो बेलीविस्तार लगाए ।

रामनाथका छोरा बुद्धिविनोद, बुहारी, नाति, नातिनी सबै काठमाडौँमा छन् । छोरा र बुहारी जागिरे छन्, बिहानको खानपिन गरेर उनीहरू काममा जान्छन् । नाति बोर्डिङ स्कुलमा पढ्छ । नातिनी सानै छ घरमा गीतासँग बस्छे । गीता घरको काम गर्ने केटी हो । बुढा बा, आमा गाउँको घरमा बस्छन् । छोरा, बुहारीले बा, आमालाई काठमाडौँ बोलाएका छैनन्; बाबु, आमाले पनि हामी काठमाडौँ आउनु प-यो भनी कर गरेका छैनन् । गाउँमा एकहल गोरु छन्, एउटा दुहुनो गाई छ, एक÷दुई वटा बाख्रा छन् । बुढाबुढी सकेको खनजोत गर्छन् । मौसम अनुसारको बाली लगाउँछन् । अन्नपात घरमा थान्को लगाउँछन् । गाउँघरमा मानिसहरू पातलिँदै गएका छन्, धेरै सहर पसे । केही युवा बिदेसिए । दिनदिनै गाउँ सुनसान हुन थालेको छ ।

एकदिनको कुरा हो, गाउँमा रामनाथलाई सन्चो भएन । उनलाई पिसाब फेर्न गाह्रो भयो । पुसको महिना, कठ्याङ्ग्रिदो जाडो छ । रातभरमा चार/पाँच पटक पिसाब फेर्न उठ्छन् उनी । राति पिसाब फेर्न घर बाहिरको शौचालयमा निस्कन्छन् । मुस्किलले थोरै पिसाब लाग्छ । चार/पाँच पटक जाँदा पनि पिसाब निख्रँदैन, पटक–पटक शौचालय जाउँ, जाउँ भइरहन्छ । हुँदाहुँदै उनलाई ज्वरो आउन थाल्यो । त्यसपछि उनले काठमाडौँमा जागिर खाएर बसेको छोरालाई खबर गरे । 

अचानक बा बिरामी भएको खबर पाएपछि काठमाडौँमा जागिर खाएर बसेका बुद्धिविनोद असमञ्जसमा परे । बाआमा गाउँमा छँदा आफू र आफ्नो परिवारको दैनिकी व्यवस्थित ढङ्गले चलिरहेको थियो । अब काठमाडौँमा पारिवारिक व्यवस्थापन कसरी गर्नुपर्ने हो भन्ने सोचमा उनी परे । बेलुका श्रीमतीसँग उनले सल्लाह गरे । बालाई काठमाडौँ ल्याउनु पर्दा आमालाई पनि सँगै ल्याउनु पर्ने हुन्छ, अब कसरी व्यवस्थापन गर्ने भने । 

बुद्धिविनोदले काठमाडौँमा घर बनाइसकेका थिए । बाआमालाई एउटा कोठामा व्यवस्थापन गर्ने सल्लाह भयो । बाआमा शाकाहारी हुनुहुन्थ्यो । भान्सा कोठा एउटै भएकाले माछामासु पकाउने दिन बाआमालाई खानपिन गराएर मात्र पकाउने सल्लाह पनि उनीहरूले गरे । छोराबुहारीको सुत्ने कोठाभित्रै शौचालय थियो तर बाआमाको निम्ति छुट्याएको कोठामा त्यस्तो थिएन । राति पिसाब फेर्न कोठा बाहिर निस्कनु पथ्र्यो ।  बुद्धिविनोद गाउँ गए, गाउँको घर तथा पशुचौपाया रेखदेख गर्ने मानिस व्यवस्था गरी बाआमालाई लिएर काठमाडौँ आयो । बाआमा काठमाडौँ आएपछि एक प्रकारको रमाइलो भयो । छोराछोरीलाई उनले ग्य्रान्डफादर, ग्य्रान्डमदर भनेर चिनाएपछि केटाकेटी पनि दङ्ग परे । नाति, नातिनी देख्न पाउँदा बाआमा पनि खुसी भए । 

बुद्धिविनोदले बालाई अस्पताल लिएर गए । उनलाई सामान्य ज्वरो पनि आएको थियो । डाक्टरले सोधे अनुसार उनले आफ्नो रोगको बयान गरे । प्रोस्टेट ग्रन्थी बढेर उनलाई सङ्क्रमण भएको रहेछ । डाक्टरको सल्लाह अनुसार उनको अल्ट्रासाउन्ड भयो । विद्युतीय प्रविधिबाट पिसाबको गति परीक्षण गरियो । परीक्षणको नतिजा अनुसार डाक्टरले उनलाई औषधी लेखी दियो र एक महिनापछि पुनः परीक्षण गर्न आउनु भनी सल्लाह दियो ।

बिहान साढे आठ बजे बुहारीले भात पकाई सक्थिन् । नाति खाना खाएर टिफिन र पुस्तकको झोला ढाडमा बोकी स्कुलतर्फ लाग्थ्यो । छोराबुहारी १० बजे काममा पुग्नुपर्ने हुँदा ९ बजेभित्र खाना खाइसक्नुपर्ने हुन्थ्यो । नातिलाई स्कुल पठाएपछि हजुरबा, हजुरआमाको खाना खाने पालो आउँथ्यो । बाआमाले खाई सकेपछि मात्र छोराबुहारी खान्थे । बाआमा सबेरै नुहाइधुवाइ गरी पूजापाठ गर्थे । बुढाबुढीलाई ९ बजेअघि नै खाना खानु पर्दा सकस भइरहेको थियो । उनीहरूलाई यति छिटो भान्सा गर्ने बानी थिएन, न त उनीहरूलाई भोक लागिसकेको नै हुन्थ्यो । 

छिट्टै खाना खानुपर्दा असजिलो भइरहेकोले बाआमा दुई जनाका निम्ति आमाले अलग्गै भात पकाउने विचार गरिन् । अब बिदाका दिनबाहेक अरू दिन बाआमा दुई जनाको भान्सा १० बजेपछि मात्र हुने भयो । नाति ३ बजेपछि स्कुलबाट आउँथ्यो, खाजा खान्थ्यो र टीभी हेर्न बस्थ्यो । घरमा प्रायः सबै जना चाउचाउ, मम, पिज्जा, बर्गर, ससेज जस्ता किनुवा खाजाहरू खान्थे । छोरी धेरै जसो घरमा काम गर्ने केटी गीतासँग खेल्थी । ऊ बाआमासँग सहज मान्दिनथी । हजुरबा, हजुरआमा आएको करिब एक वर्षपछि ऊ पनि स्कुल जान थाली । दाजुबहिनी एकैचोटि स्कुल निस्कन्थे तर बहिनीचाहिँ स्कुलबाट छिट्टै फर्कन्थी र गीताले दिएको खाजा खाएर मोबाइलमा टिकटक हेर्न थाल्थी ।

दिउँसो बाआमा दुई जना मात्र हुन्थे । उनीहरू चिया, बिस्कुट खाजा खान्थे र दिनभर टोलाएर बसिरहन्थे । उनले आफ्नी श्रीमतीसँग भने, “गाउँमा यस्तो एक्लो अनुभव कहिल्यै भएको थिएन । लालबहादुर आउँथ्यो, धनबहादुर आउँथ्यो, गौरीशङ्कर र रामकृष्ण पनि आउँथे । भलाकुसारी हुन्थ्यो, समय कटेको पत्तै हुँदैनथ्यो । यहाँ त नाति, नातिनी पनि छेउमा आउँदैनन्, बोलचाल गर्दैनन्, कसैले सन्चोबिसन्चो पनि सोध्न भ्याउँदैनन् ।” छोराबुहारी कामबाट साँझमा फर्कन्छन्, उनीहरू बाआमासँग बोल्दै नबोली कोठाभित्र पस्छन् र आफ्ना छोराछोरीसँग मात्र कुरा गर्छन् । बेलुका उनीहरूले घरमा खाना बनाएर खाएको कहिल्यै देखिँदैनथ्यो । बजारबाट ल्याएका किनुवा खानेकुरा खान्थे । त्यसैमा बानी परिसकेका थिए । उनीहरू कहिल्यै बाआमालाई सँगै राखेर खाँदैनथे, बेलुका दुई जना बुढाबुढी मात्र रोटी, तरकारी बनाएर खान्थे । 

घरबाट आउँदा रामनाथले भागवत गीताको पुस्तक लिएर आएका थिए । दिउँसो त्यही पुस्तक वाचन गरी दिन काट्थे । आमा पनि अलमलमा पर्थिन् । गाउँघरमा जस्तो बोलचाल गर्ने मानिस यहाँ कोही पनि थिएन । एकदिन दिक्क भएर उनीहरू घरबाट भित्री सडकतर्फ घुम्न निस्के । फुर्सद कसैलाई थिएन, बाटोमा सबै हतारहतार हिँडिरहेका थिए । कसैलाई उभिएर भलाकुसारी गर्ने फुर्सद नभएको भान हुन्थ्यो ।

एउटा अधबैँसे मानिस अगाडिबाट आइरहेको थियो । उसको एउटा खुट्टो छोटो भए जस्तो खोच्याउँदै हिँडिरहेको थियो । रामनाथले उसका अनुहारमा एकोहोरो हेरिरहेपछि उसले पनि उभिएर उनीतर्फ हे-यो । उनले त्यस मानिसलाई सोधे, “तपाईंको घर कता हो बाबु ?”

ऊ टक्क अडियो र भन्यो, “यतै अलिक माथितिर हो, बा ।” चिनजानको क्रममा आपसमा कुराकानी हुन थाल्यो । ती मानिससँग बसेर कुरा गर्ने विचारले रामनाथले यताउती बस्ने ठाउँ हेरे । त्यहाँ गाउँको जस्तो चौतारो थिएन, बाटो छेउमा न कुनै ठुलो ढुङ्गा थियो न कुनै डिल न आली । सडकछेउमै उभिएर उनीहरू गफ गर्न थाले ।

रामनाथले सोधे, “अनि घरमा कति परिवार हुनुहुन्छ त ?”

“म एकलै छु, छोराबुहारी, नातिनातिनी अमेरिकामा छन्, श्रीमती निकै अघि परलोक भइन् ।”

त्यस मानिसको कथा सुनेपछि रामनाथलाई लाग्यो, “हाम्रो त कम्तीमा छोराबुहारी, नातिनातिनी हामीसँगै छन् । परिवारका सदस्यलाई हामीसँग बोल्ने फुर्सद छैन, सन्चो, सुविस्ता सोध्दैनन्, एकअर्काको कुरो केही थाहा हुँदैन, सँगै खानपिन गर्दैनन् तर पनि आफ्ना मान्छे छन् भन्ने त छ । त्यस बिचराको घर भए पनि साथमा परिवारको कुनै सदस्य छैन ।” उनले त्यस मानिसभन्दा आफूलाई सुखी सम्झनु पर्दछ भनी चित्त बुझाए ।

बेलुका रामनाथ घरको बैठकमा बसिरहेका थिए, छोरो कामबाट फक्र्यो । बाबुलाई वास्तै नगरी सरासर ऊ आफ्नो कोठामा पस्यो । “आयौ बाबु !” भनी छोराप्रति स्नेहबोध गराउनसम्म पनि उनले पाएनन् । “सन्चै हुनुहुन्छ बुवा” अथवा “बा, खाजा खानु भयो” भनी सोधेको भए पनि त हुन्थ्यो अथवा घर आएर एकछिन बासँग बसेर भलाकुसारी गरेको भए पनि त हुन्थ्यो । बाको अस्तित्वलाई कुनै महत्व नदिई छोरो कोठामा पसेको देखेर रामनाथले फेरि अचम्मको शून्यता अनुभव गरे । नाति र नातिनी आफू नजिक हुन नसक्नु, छोरा, बुहारीले बाआमाको भावना बारे कुनै चासो नराख्नु जस्ता कुरा सम्झेर दिउँसो बाटामा भेटिएको मानिस उनीभन्दा भाग्यमानी त होइन भनी उनी फेरि द्विविधामा परे ।