• २० असोज २०८१, आइतबार

म्याङ्लुङले ल्याएन बजेट

blog

तेह्रथुम समाचारदाता 

तेह्रथुम, साउन १३ गते । हरेक वर्ष असार १० गतेसम्म बजेट ल्याइसक्नुपर्ने कानुनी प्रावधान भएता पनि म्याङ्लुङ नगरपालिकाले भने अझैसम्म बजेट ल्याउन सकेको छैन। अघिल्लो आर्थिक वर्षको करिब तीन करोड ऋण रहेको र चुक्ता गर्ने विषयमा कार्यपालिका सदस्यसँग मतभेद भएपछि बजेट ल्याउन ढिलाइ भएको म्याङ्लुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले बताउनुभयो। 

आर्थिक वर्ष २०७९/८० को चालुतर्फ २१ करोड बराबरको कार्यक्रम बनाइएको तर चालु वित्तीय समानीकरण र राजस्व बाँडफाँटको गरी नगरपालिकाको खातामा १८ करोड रुपियाँ मात्र जम्मा भएकाले नयाँ बजेट निर्माणमा समस्या भएको उहाँको भनाइ छ। अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याउनुपर्ने र साउन लाग्नुअगावै पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। यसरी बजेट पेस भएपछि मात्रै त्यस अनुसार आगामी आर्थिक वर्षमा खर्च गर्न र कर उठाउन पाइन्छ।

कुल १० वटा वडा रहेको म्याङ्लुङ नगरपालिकाको नगर सभा ५५ सदस्यीय छ तर हालसम्म बैठक भत्तासमेत नपाएको वडा नं. ५ का अध्यक्ष राजकुमार सेनी लिम्बूले बताउनुभयो। “राज्यले तोकेको आफ्नो सेवा सुविधा त लिन नसक्ने  हामी वडाध्यक्षले कसरी जनताको समस्या सम्बोधन गर्न सकिएला र ?,” उहाँले प्रतिप्रश्न गर्नुभयो। 

नगरपालिकाले विकास निर्माणभन्दा पनि अनावश्यक अनुदान र चन्दा सहयोगको कामलाई प्राथमिकतामा राखेका कारण पालिकाले ऋण बेहोर्नु परेको म्याङ्लुङ–२ का अध्यक्ष हेमराज लिम्बूले बताउनुभयो। उहाँका अनुसार अघिल्लो आवमा नगर प्रमुखको तोक आदेशबाट धेरै खर्च भएको छ। प्रमुखले आफूखुसी खर्च गरेको ऋणमा आफूहरू भागिदार नहुने वडाध्यक्षहरूले बताएका छन्। लेखा शाखाले समेत खर्चको विवरण लुकाउने गरेको र आफूहरूले पटक पटक माग गरे पनि लेखा अधिकृत गोपालकृष्ण लिम्बूले दिन नमानेको म्याङ्लुङ–१ का अध्यक्ष बुद्धिराज लिम्बूले बताउनुभयो। “पालिकाको भुक्तानी प्रक्रियाप्रति हामी वडाध्यक्षहरू नै बेखबर छौँ,” उहाँले भन्नुभयो। 

पालिकाका प्रमुख प्रशासकीय अधिकृतसमेत गत चैतयता तीन जना फेरबदल भइसकेकाले कार्यालयको आर्थिक गतिविधि चित्त बुझ्दो नभएको कार्यपालिका सदस्यहरूको गुनासो छ। जिल्लाको सदरमुकामसमेत रहेको म्याङ्लुङ नगरपालिकाले अन्य पालिकाको तुलनामा विकासे गतिविधिसमेत गर्न नसकेको नगरवासीको गुनासो छ।