• १३ साउन २०८१, आइतबार

सुधार हुँदै वीर अस्पताल

blog

काठमाडौँ, साउन १३ गते । असहाय तथा गरिबको अस्पताल भनेर चिनिने वीर अस्पताल विगतको तुलनामा सुधार हुँदै गएको छ। 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. भूपेन्द्रकुमार बस्नेतले वीर अस्पतालमा पछिल्लो समय धेरै सुधारका प्रयास भइरहेको दाबी गर्नुभयो। अनलाइनबाट टिकट काट्ने व्यवस्था गरिएको जानकारी दिँदै उहाँले लामो समय शल्यक्रियाका लागि पालो कुर्नुपर्ने अवस्था अन्त्य भएको बताउनुभयो। 

डा. बस्नेतले वीर अस्पतालको मोबाइल एप इन्स्टल गरेपछि त्यसबाटै चिकित्सक रोजेर टिकट लिन सकिने भन्दै अनलाइनमा टिकट लिएको व्यक्ति सिधै ओपिडी कक्षमा गएर आफ्नो जाँच गराउन सक्ने बताउनुभयो। 

अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले सिलिङ र भित्तामा सेवा कक्षबारे जानकारीमूलक पेन्टिङ गरिएको बताउनुभयो। बिरामीका लागि भुक्तानी सेवालाई प्रभावकारी बनाउन तलापिच्छे काउन्टर राखिएको छ। यही महिनाबाट जलन उपचार केन्द्र स्थापना गरिँदै छ। उहाँले क्यान्सर उपचार केन्द्र, सघन उपचार कक्ष र एचडियुको क्षमता विस्तार, सर्जरी सेवाको क्षमता विस्तार, फार्मेसी सेवाको सुदृढीकरण गरिएको बताउनुभयो।

यसैबिच वीर अस्पतालले शुक्रबार १३४ वार्षिकोत्सव मनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल विपन्न नागरिकको भरोसा बन्नुपर्ने बताउनुभयो।  

उहाँले विशिष्ट र अति विशिष्ट व्यक्तिलाई बिरामी परे नेपालमै उपचार गर्नुपर्ने व्यवस्था गरिएको बताउनुभयो। मन्त्री बस्नेतले नेपालमै गुणस्तरीय सेवा हुँदाहुँदै विदेश जान नहुने भन्दै वीरको अति विशिष्ट कक्ष २०४४ सालदेखि सञ्चालनमा आएको बताउनुभयो। स्वास्थ्य सचिव देवकुमारी गुरागाईंले वीर अस्पतालको स्वास्थ्य सेवा प्रभावकारी भएको उल्लेख गर्दै अस्पताल विकासका लागि स्वास्थ्य मन्त्रालय सधैँ तयार रहेको बताउनुभयो ।