• २० असोज २०८१, आइतबार

तराईमा लोकप्रिय बन्दै वायोस्याण्ड फिल्टर

blog

तराई क्षेत्रतिर प्रयोगमा आएको बायोस्याण्ड फिल्टर । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की

बराहक्षेत्र (सुनसरी), साउन १२ गते ।  प्रकाशपुरका आनन्द कविरथले कल (ट्युवेल) को पानी पिएको ५० वर्ष हुँदा पनि उहाँलाई पानी पिउँदा कहिल्यै सन्तुष्टी मिलेन । कलको पानीमा बढी आइरन आउने हुँदा पानी राम्रोसँग पिउन नपाउनु भएका उहाँले एक वर्षदेखि त्यही कलको पानी पिउँदा खुसी हुनुहुन्छ ।

प्रकाशपुर, महेन्द्रनगर, मधुवनलगायतका क्षेत्रका अधिकांश कलहरुमा आइरन बढी भएको पानी आउनेगरेको छ । आनन्दले भन्नुभयो, “१० महिनादेखि कलबाट डाइरेक्ट आउने पानी पिउन छोडेको छु । गाउँमै ४ हजार ५ सय रुपियाँमा बायोस्याण्ड फिल्टर किनेर शुद्ध पानीको प्रयोग गर्दैआएको छु ।’ 

अहिले गाउँमा सबैले शुद्ध पानीका लागि वायोस्याण्ड फिल्टरको प्रयोग गर्दैआएको प्रकाशपुर श्रीपतिटोलका श्याम कटुवालले बताउनुभयो । प्रकाशपुर जुगँेचोककै सीतारम चन्द्रवंशी, शंखर चन्द्रवंशीले पनि दुई वर्षदेखि वायोस्याण्ड फिल्टरकै प्रयोग गर्दै आउनुभएको छ ।

एक पटकमा १२ लिटरसम्म पानी फिल्टर गर्न सकिने भएकाले एउटा परिवारलाई पानी पिउनकै लागि एक पटकको फिल्टर गरेको पानीले नै पुग्ने श्याम कटुवालले बताउनुभयो । उहाँले चार वर्षदेखि फिल्टरको प्रयोग गर्दैआएको बताउनुभयो ।

सुनसरीको इटहरी –५ बराहटोलका टुकबहादुर विष्टले भन्नुभयो, “यो फिल्टरको अरु पानी छान्ने फिल्टरभन्दा सजिलो र छिटो पानी छान्छ । प्राकृतिक तरिकाबाट फिल्टरिङ हुनेभएकाले यसबाट छानेको पानी शुद्ध र मिठो हुन्छ ।’

के हो वायोसेण्ड फिल्टर

क्यानडाका नागरिक डा. डेविडमेन्जले सन् १९९३ मा आविस्कार गरेको वायोसेण्ड फिल्टर संसारको ६० वटा देशमा प्रयोगमा छ । वायोसेण्ड फिल्टरले वालुवाको सतहमा जैविकीय तह निर्माण गरेर पानी शुद्धिकरण गर्छ । 

एक घण्टामा २४ लिटर पानी शुद्धिकरण गर्ने फिल्टरले जिवाणु, आइरन, आर्सनिकका लागि (५ किलो फलामको काटी) राखेर धमिलोपन र गन्ध आउने पानीलाई शुद्धिकरण गर्ने (एन्फो) वातावरण संरक्षण संस्थाका पूर्व सहायक प्राविधिक हरि बुढाथोकीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो फिल्टरले पानीमा रहेका हानिकारक जिवाणुलाई पनि रोक्ने काम गर्छ । ०.७ एमएम वालुवाको साइज र गिटीको प्रयोग गरेर पानी फिल्टर हुनेगेरेको छ ।’

‘फिल्टरमा पानी हाल्दा माथिल्लो तहमै ठूला जिवाणुहरु अड्कन्छन् । माथिल्लो तहमा नअड्केका दोस्रो तहमा अड्कन्छन । दोस्रो तहमा नअड्किएका जिवाणु चौथो तहमै गएर नष्ट हुन्छन्’ उहाँले भन्नुभयो । 

२८ दिनमा जैविकीय तह निर्माण हुनेहुुँदा माथि अड्किएका जिवाणुलाई तल बनेको जैविकीय जिवाणुले नष्ट गर्ने काम गर्छ । यसरी जैविकीय तह र वालुवाको माध्यमले पानीलाई ९९.९९ प्रतिशत शुद्धिकरण गर्ने बुढाथोकीले बताउनुभयो ।

सन् १९९३ मा क्यानडाबाट सुरु भएको फिल्टर नेपालमा २०६६ देखि वायोसेण्ड फिल्टरको प्रयोग हुन थालेको वायोसेण्ड फिल्टर उद्योग संगठनका केन्द्रीय अध्यक्ष ईश्वरप्रसाद दाहालले बताउनुभयो । उहाँका अनुसार तराईका २२ जिल्ला पुर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्म २ लाख फिल्टर प्रयोगमा आइरहेको र नेपालको विभिन्न स्थानमा गरी ५० ओटा उद्योगहरु सञ्चालनमा छन् ।

तराईका जिल्लामा बढी ट्युवेलको पानी प्रयोग गर्दैआएका छन् । अधिकांश ट्युवेलको पानी परीक्षण गर्दा ब्याक्टेरिया पाइएको छ । वायोसेण्ड फिल्टर तराईका जिल्लामा प्रभावकारी बनेको अध्यक्ष ईश्वरप्रसाद दाहालले जानकारी दिनुभयो । फिल्टर ३० वर्षसम्म टिकाउ हुने र आफैले मर्मत गर्न सकिने हुँदा यो आमउपभोक्तामा लोकप्रिय बन्दैगएको छ ।

सानै  लगानीमा उद्योग

सुनसरीको बराहक्षेत्र नगरपालिका –५, कालाबञ्जारमा भरौल वायोस्याण्ड फिल्टर उद्योग १२ वर्षदेखि सञ्चालन गर्दै अउनुभएका कृष्णप्रसाद दाहालले भन्नुभयो, “सुरुमा उद्योग सञ्चालन गर्दा फिल्टरको माग आएन । छिमेकीलाई नै सुरुका दिनमा प्रयोग गर्न अनुरोध गरे । फिल्टरबारेमा बुझेपछि उनीहरु खोजेर आउन थाले । सुरुको वर्ष ५० वटा मात्र बिक्री भयो ।”

अहिले दाहालले दुई जनालाई नियमित रोजगारी दिएर तीन वटा फर्मबाट सिमेन्ट, वालुवा र गिटीको मिश्रणबाट दैनिक फिल्टर बनाउँदै आउनुभएको छ । सानो लगानीमा सञ्चाल गर्न सकिने भएकाले उद्योगबाट सन्तुष्टि मिलेको छ । माग बढी आउनेगरेकाले समयमा पुगाउन गाह्रो हुनेगरेको उहाँले बताउनुभयो । 

गत साउनदेखि असार मसान्तसम्म ८ सय ४१ वटा वायोस्याण्ड फिल्टर बिक्री भएको छ । प्रतिगोटा ४ हजार ५ रुपियाँमा फिल्टर, बाल्टी र स्टेन बिक्री हुँदैआएको छ । ६५ जना उद्यमीले मुलुकको विभिन्न स्थानमा काम गरिरहनुभएको हरि बुढाथोकीले जानकारी दिनुभयो ।