लीलाधर वली
घोराही, साउन १२ गते । नेपाल नेत्रज्योती संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालमा आँखाको नानी प्रत्यारोपण सेवा प्रभावकारी हुँदैगएको छ ।
अस्पतालमा आँखाको नानी प्रत्यारोपणका लागि आउनेहरुको सङ्ख्या पनि पछिल्लो समयमा बढ्दैगएको छ । अस्पतालले सुरु गरेको आँखाको नानी प्रत्यारोपण सेवा अन्तर्गत हालसम्म ५३ जनाले आँखाको नानी प्रत्यारोपण गरेको राप्ती आँखा अस्पतालकी कर्निया स्पेसियालिष्ट (आँखाको नानी रोग) बिशेषज्ञ डा. ज्योति सापकोटाले जानकारी दिनुभयो ।
एक वर्षको अवधिमा ५३ जनाको आँखाको नानी प्रत्यारोप गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार राप्ती आँखा अस्पतालमा सबैभन्दा बढी ४४ जनाले आँखाको नानी प्रत्यारोपण गरेका छन् । छन्द कालेबाबु नारायणी आँखा अस्पतालमा ९ जनाले आँखाको नानी प्रत्यारोपण गरिएको छ ।
अस्पतालले २०७८ माघमा पहिलो पटक बाँकेको राप्तीसोनारी –१ कि कल्पना कुमालको आँखाको नानी प्रत्यारोपण गरेको थियो । आँखाको नानीमा फुलो परेको र औषधि हाल्दा पनि ठीक नभएर फुट्न लागेको अवस्थामा आँखाको डल्लो बचाउन नानी प्रत्यारोपण गरिएको थियो ।
डा. सापकोटाले भन्नुभयो, ‘आँखाको नानी प्रत्यारोपण विभिन्न कारणले गर्ने गरिन्छ, कुनैको आँखा बचाउन गरिन्छ भने कसैको दृष्टि फर्काउनका लागि पनि गर्ने गरिन्छ ।’
आँखाको नानीमा हुने इनफेक्सन (फुलो पर्ने) को औषधि तथा शल्यक्रियामार्फत उपचार, आँखाको नानीको प्रत्यारोपण, दृष्टि बढाउन गरिने नानीको प्रत्यारोपण नानीको ठीक नभएको घाउ, फुलो हटाउने शल्यक्रिया, आँखाको नानीको आकार र बनावट जोगाउन गरिने शल्यक्रिया, आँखाको नानीको सेतो दाग हटाउने शल्यक्रिया र आँखाको नानीमा फरक आकारका चोट, घाउ वा ट्युमर हटाउन गर्ने गरिन्छ । उहाँका अनुसार नेपाल आँखा बैंकबाट आँखाको नानी ल्याएर अस्पतालले नानी प्रत्यारोपण गर्दैआएको छ ।
राप्ती आँखा अस्पताल रक्षाचौरले यो सेवा दिन थालेपछि बिरामीलाई नानी फेर्नका लागि काठमाडौंमै जानुपर्ने बाध्यता हटेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले दिन सक्ने आँखाको नानीसम्बन्धी सेवाहरु यहींबाट दिन थालेपछि बिरामीलाई उपचारका लागि काठमाडौं जानुपर्ने बाध्यता हटेको छ ।’ आँखाको नानी प्रत्यारोपणका लागि करिब २० हजारमाथि रकम खर्च हुनेगरेको छ ।