• २० असोज २०८१, आइतबार

‘अहिले म नै मुख्यमन्त्री हुँ’ : नेता कार्की

blog

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मतबहादुर कार्की । तस्बिर : शशिधर पराजुली

शशिधर पराजुली

विराटनगर, साउन १२ गते । नेकपा (एमाले) संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतको आदेश बमोजिम अहिले आफू नै कामचलाउ मुख्यमन्त्री भएको दाबी गर्नुभएको छ ।

विराटनगर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्नुहुँदै उहाँले सो दाबी गर्नुभएको हो । सर्वोच्च अदालतको आदेशलाई आधार मानेर मन्त्रालय जाने र नियमित  कामकारवाहीलाई अगाडि बढाउने उहाँले बताउनुभयो । 

सर्वोच्च अदालतको आदेशमा सभामुखको हस्ताक्षरलाई आधार मानेर नयाँ मुख्यमन्त्री नियुक्त गर्ने कार्य संविधानविपरीत भएकाले सो त्रुटि भएकै बिन्दुबाट नयाँ मुख्यमन्त्री नियुक्त गर्न भनिएको उहाँले बताउनुभयो । नेता कार्कीले उक्त आदेशका आधारमा आफूले मुख्यमन्त्रीको रुपमा काम गर्ने प्रतिक्रिया दिनुभयो । 

निवर्तमान मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘कहिलेकाहीँ व्यक्ति र संस्थाबाट कमजोरीहरु हुन्छन्, अब उहाँहरुले यस्तो कमजोरी नगर्नुहोला ।’ पत्रकारले सभामुखको राजीनामाको विषयमा सोधेको प्रश्नमा उहाँले त्यस्तो प्रतिक्रिया दिनुभयो ।

नेता कार्कीले कोशी प्रदेश सरकारको स्थायित्व विकास र सुशासनका निम्ति नेपाली कांग्रेससमेतको सहभागितामा सरकार गठन गर्न सकिने पनि बताउनुभएको छ । 

‘हामी यस विषयमा कुराकानी गर्छौं, सहमतिको वातावरण बनेमा मुख्यमन्त्री को हुने भन्ने कुरा मुख्य हुँदैन, कांग्रेसलाई मुख्यमन्त्री बनाएर जाने विषयमा पनि हामी खुला छौं’ कार्कीले भन्नुभयो ।