• ८ जेठ २०८१, मङ्गलबार

घर आगलागी हुँदा लाखौँको क्षति

blog

आगलागीले ध्वस्त भएको घरको संरचना।

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन ११ गते। ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा एकघरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ।

बिहीबार दिउँसो मेहेले फलामखानी टोलका स्थानीय दीपक बुडाक्षेत्रीका घर आगलागी हुँदा लाखौँ रुपियाँ बराबरको क्षति भएको हो।

स्थानीय केशव गौतमका अनुसार आगलागीबाट घरमा भएको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन लगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ। घरमा भएको सबै सामान जलेर नष्ट हुँदा करिब चार लाख रुपियाँ बराबरको धनमाल जलेर नष्ट भएको स्थानीयले अनुमान गरेका छन्। 

केही ढिलो मात्र प्रहरी टोली पुगेका कारण क्षतिको यथार्थ विवरण आउनलाई समय लाग्ने बताइएको छ। यता आगलागीको कारण पनि खुलिनसकेको प्रहरीले जनाएको छ।