• ३० वैशाख २०८२, मङ्गलबार

एक सय ११ हेक्टर जमिनमा वृक्षरोपण

blog

राप्तीसोनारी गाउँपालिका –३ स्थित वागेश्वरी सामुदायिक वन उपभोक्ता समूहको खाली जमिनमा बिरुवा राेपिँदै । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, साउन ११ गते । डिभिजन वन कार्यालय बाँकेले विभिन्न शीर्षक अन्तर्गत जिल्लाका एक सय ११ हेक्टर खाली जमिनमा विभिन्न जातका बिरुवा राेपेको छ । 

डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी सहायक डिभिजन वन अधिकृत गणेश खड्काले गत आर्थिक वर्षमा विभिन्न शीर्षकमा जिल्लाका विभिन्न सामुदायिक वनका एकसय ११ हेक्टर खाली जमिनमा एक लाख ७७ हजार ६ सय बिरुवा लगाइएको बताउनुभयो । 

एक हेक्टर जमिनमा एक हजार ६ सयका दरले बिरुवा लगाइएको उहाँले बताउनुभयो । कृषि वन तथा बृहत्तर हरियाली प्रवर्धन कार्यक्रम अन्तर्गत गाजी सामुदायिक वन क्षेत्रको ७.५१ हेक्टर, गरिब नवाज सामुदायिक वन क्षेत्रको १०.८, रानी सामुदायिक वनक्षेत्रको ५.५३, पन्नहवादेवी सामुदायिक वन क्षेत्रको १२.१८, श्री रामकुट्टी सामुदायिक वनक्षेत्रको १०.००, हेक्टर जमिनमा वृक्षरोपण गरिएको छ । 

त्यस्तै, झिझरी महिला सामुदायिक वनक्षेत्रको ४.००, श्री वनशक्ति सामुदायिक वनक्षेत्रको ५.००, श्री दुद्धेश्वर महादेव बर्फानीबाबा धार्मिक वनक्षेत्रको ५.००, श्री सिद्धबाबा सामुदायिक वनक्षेत्रको ५.००, श्री जनप्रतिभा सामुदायिक वनक्षेत्रको ४.००, श्री वागेश्वरी सामुदायिक वनक्षेत्रको १२.४७ र श्री अशोक सामुदायिक वनक्षेत्रको ७.५१ हेक्टर गरी कुल ९०.०० हेक्टर खालि जमिनमा सो बिरुवाहरु रोपिएको सूचना अधिकारी खड्काले जानकारी दिनुभयो ।

त्यसैगरी राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत वन अतिक्रमण हटाई पुनरुत्पादन व्यवस्थापन गरी श्री न्यू हरियाली सामुदायिक वनको ६.०० हेक्टर जग्गामा वृक्षरोपण गरिएको छ । नदी उकास तथा खाली क्षेत्रमा वृक्षरोपण अन्तर्गत श्री राप्ती पीडित सामुदायिक वन क्षेत्रको १५.०० हेक्टर खाली जमिनमा पनि वृक्षरोपण गरिएको खड्काले बताउनुभयो । गतवर्ष विभिन्न तीनवटा शीर्षक अन्तर्गत एक सय ११ हेक्टर खाली जमिनमा बिरुवा लगाइएको उहाँले थप्नुभयो ।

उक्त खाली जमिनमा खयर, अस्ना, जामुन, बर्राे, बेल, विजयसाल, शिरीष, सिसौ, सावगन, पानन, काभ्रो, अमला, सतिसाल, श्रीखण्ड, खम्हारी, श्वेतचन्दन, राजवृक्षलगायतका बिरुवा लगाइएको खड्काले जानकारी दिनुभयो ।

एक सय ११ हेक्टर खाली जमिनमा एक लाख ७७ हजार ६ सय बिरुवा लगाउँदा बिरुवा उत्पादन, वृक्षरोपण तथा तारबार गर्न एक करोड ११ लाख रुपियाँ खर्च भएको सूचना अधिकारी खड्काले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालयले बर्सेनि सामुदायिक वन, अतिक्रमित क्षेत्र, नदीका किनार, बगरलगायतका खाली जग्गा भएका क्षेत्रको पहिचान गरी लाखौं बिरुवा रोप्दै आएको छ ।