जानु पाण्डे
कपिलवस्तु, साउन ११ गते । सर्पदंशका घटना बढ्दै गएपछि कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा समुदायलाई सचेत गराउन अभिमुखीकरण कार्यक्रम गरिएको छ । पालिकाभित्र रहेका महिला स्वास्थ्य स्वयंसेविका, शिक्षकलाई लक्षित गरी अभिमुखीकरण गरिएको हो ।
सर्पले डसेपछि उपचारका लागि लग्नेभन्दा बेवास्ता गर्ने, झारफुकतिर लैजाने, ढिलासुस्ती गर्नेजस्ता प्रवृत्तिको अन्त्य गराउन समुदायमा सचेतना फैलाउन कार्यक्रम गरिएको आयोजकको भनाइ छ ।
बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशवकुमार श्रेष्ठका अनुसार कार्यक्रममा सर्पको डसाइ, सक्रिय हुने समय, सर्पले डसेपछि गरिने प्राथमिक उपचार र सर्प चिन्ने तरिकाको विषयमा छलफल गरिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका डा. विशाल झा, भेरी अस्पतालका डा. अभिशेख मण्डल, सर्प अनुसन्धानकर्ता सुनिल सापकोटा र कपिलवस्तु सर्प दंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले सहजीकरण गर्नुभएको छ ।
सर्पले टोकिसकेपछि गर्नुपर्ने काम, कुन र कस्ता प्रकृतिका सर्पले डस्दा विष लाग्ने भन्नेबारे कार्यक्रममा जानकारी दिइएको छ । अभिमुखीकरणपछि विद्यालयको अतिरिक्त क्रियाकलाप गराई बालबालिका र समुदायलाई जानकारी दिने कार्यक्रममा सहभागी शिक्षकले बताउनुभयो ।
सर्पदंशकै कारण जिल्लामा एकै पटक ४ जनाको ज्यान गएपछि समुदायमा यसको सचेतना फैलाउन अभिमुखीकरण कार्यक्रम गरिएको कालिका स्वावलम्बन विकास केन्द्रका कार्यकारी निर्देशक अर्जुन थापाले बताउनुभयो ।