• १२ मंसिर २०८१, बुधबार

‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग

blog

काठमाडौँ,  साउन ११ गते । राष्ट्रिय किसान सञ्जालले मुलुकभर पशुमा देखिएको ‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग गरेको छ । साथै रोगको शीघ्र नियन्त्रण, पशुबस्तुमा क्षति पुगेका किसानलाई राहत, क्षतिपूर्ति र बिमाको भुक्तानी दिन पनि सञ्जालले माग गरेको छ ।

सञ्जालले आज पत्रकार सम्मेलन गरी उक्त माग पूरा नभए किसानले चक्काजामलगायतका विरोधका कार्यक्रम गर्ने जनाएको छ । सञ्जालका संयोजक एवं नेपाली कांग्रेस निकट नेपाल किसान महासङ्घका सभापति गणेशचन्द्र तिमिल्सिनाले लम्की स्किनका कारण देशभरका किसान मारमा परेको बताउनुभयो । 

नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासङ्घका अध्यक्ष डा प्रेम दङ्गालले हालसम्म उक्त रोगका कारण ५० हजार पशु मरिसकेका र करिब रु ४० अर्बको क्षति भइसकेको जनाउँदै नियन्त्रण नभएमा रु एक अर्बसम्म क्षति हुनसक्ने बताउनुभयो ।

सञ्जालले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका ‘स्टल’लाई प्रक्रियाबमोजिम प्रतिस्पर्धाका माध्यमबाट भाडामा लगाउन पनि माग गरेको छ । सञ्जालले हरेक दिन समितिको परिसरमा धर्ना दिँदै आएको छ । सञ्चालले गत असार २४ गते कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाललाई भेटेर ती विषयमा ध्यानाकर्षण गराएको थियो ।

 यस्तै सञ्जालले किसानलाई आवश्यक पर्ने रासायनिक मलको सहज प्रबन्ध गर्न, कृषि बिमाबापतको रकम निकासामा भएको ढिलाइको छानबिन गर्नुपर्नेलगायत माग अघि सारेको छ । सञ्जालमा विभिन्न नौ किसान सङ्गठन आबद्ध छन् । रासस