• ३० वैशाख २०८२, मङ्गलबार

प्रदेश सभा सदस्यद्वारा सरकारको ध्यानाकर्षण

blog

देउखुरी समाचारदाता

देउखुरी, साउन ११ गते । लुम्बिनी प्रदेश सभाको २१ औँ बैठकमा प्रदेश सभा सदस्यले समसामयिक तथा जनजीविकासँग सम्बन्धित विषयलाई विशेष जोड दिएका छन् । प्रदेश सभा सदस्य जमुना ढकालले विद्युत् अनियमित भएको भन्दै सूचना नदिएर लाइन काट्ने काम भइरहेकाले यस विषयमा सरकारले विशेष चासो दिनुपर्ने बताउनुभयो । 

यस्तै प्रदेश सभा सदस्य मिना न्यौपाने अहिलेको समय कृषि उत्पादकत्व बढाउनुपर्ने समय भएकाले बजेटको शीर्षक स्थान्तरण गरेर भए पनि सरकारलाई त्यसतर्फ केन्द्रित हुन आग्रह गर्नुभयो । अर्का प्रदेश सभा सदस्य इन्द्रकुमारी गहतराजले अहिले पनि लुम्बिनी प्रदेशमा जातीय विभेद तथा छुवाछुत कायम रहेकाले प्रदेशलाई जातीय छुवाछुत मुक्त बनाउन आग्रह गर्नुभयो । 

प्रदेश सभा सदस्य भगवती अधिकारीले सरकारले आफू मातहतका कार्यालयमा अनुगमन नगर्दा कार्यालयहरूमा बेथिती बढेको र सेवाग्राहीले दुःख पाइरहेको गुनासो गर्नुभयो । प्रदेश सभा सदस्य सुशीला वादीले दलित अधिकारको सवालमा प्रदेश सरकारले उल्लेख्य रूपमा काम गर्न नसकेको गुनासो राख्दै प्रदेशमा पनि दलित आयोग गठनको माग गर्नुभयो । प्रदेश सभा सदस्य दिलकुमारी बुढाले पश्चिम रुकुममा महिलाको पाठेघर खस्ने समस्या बढ्दै गइरहेकोप्रति चिन्ता व्यक्त गर्दै महिलाका स्वास्थ्य अवस्थामा सुधार ल्याउने खालको काम गर्न सरकारसँग आग्रह गर्नुभयो । 

उहाँले तत्काल स्वास्थ्य चौकी र अस्पतालमा फार्मेसी सेवालाई भरपर्दो तरिकाबाट सञ्चालन गर्न सभामुखमार्फत सरकारलाई निर्देशन गर्न आग्रह गर्नुभयो । सदस्य नीमा गिरीले प्रदेश सरकारको मातहतमा रहेको विपत् व्यवस्थापन कोषलाई उपयोग गर्नुको साटो रकम सञ्चित मात्रै गरेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । त्यस्तै प्रदेश सभा सदस्य दीपेन्द्रकुमार पुनले प्रदेशभित्र भइरहेका विकास निर्माणका कामको गुणस्तरीयताको विषयमा समय समयमा अनुगमन हुनुपर्ने तर्क राख्नुभयो । नेकपा (एमाले) का प्रदेश सभा सदस्यले प्रदेश सरकार र प्रमुख प्रतिपक्षी दलबीच विगतमा भएको सहमति कार्यान्वयन नभएको भन्दै आव्रmोश पोख्नुभयो । प्रतिपक्षी दलका प्रदेश सभा सदस्य रत्नबहादुर खत्रीले सङ्घीय सरकारतर्फ प्रश्न गर्दै सुन काण्डको विषयलाई आफ्ना पार्टीका अध्यक्ष माथि आरोप थुपार्नु निन्दनीय भएको बताउनुभयो । 

उहाँले उक्त घटनाको सत्यतथ्य छानबिन गर्न प्रदेश सभामार्फत सङ्घीय सरकारलाई आग्रह गर्नुभयो । लुम्बिनी प्रदेश सभाको दोस्रो अधिवेशनको २३ औँ बैठकमा उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले एक हप्ताभित्र दिनुपर्ने सभामुख तुलाराम घर्तीमगरले स्मरण गराउनुभयो । प्रदेश सभाको २१ औँ बैठकमा स्वास्थ्यमन्त्री राजु खनालले प्रदेश सभा नियमावली २०७९ को नियम १९ को उपनियम १ को खण्ड ‘ख’ बमोजिम स्वास्थ्य संस्था स्थापना सञ्चालन नवीकरण तथा स्तरन्नोति ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई दफवार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । उक्त प्रस्ताव सर्व सम्मतिमा सामाजिक विकास समितिमा पठाइने भएको छ । प्रदेश सभाको आगामी २२ औँ बैठक २०८० साल साउन महिनाको ११ गते ३ बजे बस्ने गरी सभामुख घर्तीमगरले बैठक स्थगित गर्नुभएको छ ।