• ८ जेठ २०८१, मङ्गलबार

इलाम पूर्णखोप सुनिश्चित् जिल्ला घोषणा

blog

इलामलाई पूर्ण खोप रहेको सुनिश्चित घोषणापत्रमा हस्ताक्षर गरिंदै । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, साउन १० गते । नेपाल सरकारले सञ्चालन गरेको खोप अभियानमा इलाम जिल्लालाई पूर्ण खोप रहेको सुनिश्चित घोषणा गरिएको छ । सरकारले जन्मेदेखि १५ महिनाका बालबालिकालाई नियमित खोप सञ्चालन गरिरहेको छ । 

बाँकी १६ महिनादेखि ५९ महिनाभित्रका बालबालिकालाई दिइने विभिन्न खोपका लागि पनि इलाम सुनिश्चित् देखिएको हो । जिल्लामा खोप पूर्ण भएपछि सुनिश्चित् जिल्ला घोषणा गरिएको हो । 

जिल्ला खोप समन्वय समिति प्रमुख तथा जिसस प्रमुख जयप्रकाश राईको अध्यक्षता र इलाम नगरपालिका प्रमुख केदार थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । 

यसअघि खोप अभियानबाट छुटेका बालबालिकाका लागि गत वैशाख महिनामा पूर्णखोप अभियान चलाइएको थियो । सो अभियानमा जिल्लाभरिमा १५ जना बालबालिका खोप लगाउन छुटेको पाइएको थियो । यस्तै २८६ जना बालबालिकाले आंशिक खोप लगाएको पाइएको छ । यी सबै बालबालिकालाई अहिले पूर्ण खोप लगाएर पूर्ण खोपको सुनिश्चितता गरिएको जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर गंगाधर पण्डितले बताउनुभयो । 

जन्मेदेखि १५ महिनाभित्रका बालबालिकाले बीसीजी, डीपीटी, दादुरा रुवेला, निमोनियाँलगायतका १३ वटा खोप पुरा गर्नुपर्छ । यो अवधिमा खोप पूरा नगरेका ५९ महिनामुनिका सबै बालबालिका खोजेर खोपको डोज पूरा गरिएको पण्डितले बताउनुभयो । 

जिल्लामा अहिले १५ महिनासम्मका चार हजार ७६६ बालबालिका रहेका छन् । १६ देखि ५९ महिनाका ११ हजार ६०६ जना बालबालिका रहेको जनाइएको छ ।