• ९ जेठ २०८१, बुधबार

खाेटाङमा इलाका प्रशासनबाट नागरिकता वितरण रोकियो

blog

राजकुमार भट्टराई 

खोटाङ, साउन १० गते । खोटाङको खोटेहाङ गाउँपालिकास्थित खोटाङ बजारमा रहेको इलाका प्रशासन कार्यालयमा नागरिकता सेवा रोकिएको छ । जिल्लाको तीन स्थानीय तह खोटेहाङ गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका र बराहपोखरी गाउँपालिकाका नागरिकले सेवा लिँदै आएको प्रशासन कार्यालयमा कर्मचारी नहुँदा सेवा बन्द भएको हो ।  

गृह मन्त्रालयले शाखा अधिकृत वा कायमुकायम शाखा अधिकृतको व्यवस्था नगर्दा गत असार २६ गतेदेखि इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण, दलित जनजाति प्रमाणीकरण र सिफारिसलगायतका सेवा रोकिएको छ । 

जिल्ला सदरमुकामबाट टाढा रहेका नागरिकलाई सहजताका लागि व्यवस्था गरिएको इलाका प्रशासन कार्यालमा कर्मचारी नहुँदा नागरिकले सेवा पाएका छैनन् । हाल नागरिकता, दलित जनजाति प्रमाणीकरणको कामका लागि आउने सेवाग्राहीलाई दिक्तेलमा रहेको जिल्ला प्रशासन कार्यालय पठाउने गरिएको छ । 

इलाका प्रशासनमा कर्मचारी नहुँदा दुई दिनसम्म पैदल हिंडेर उक्त क्षेत्रका नागकिरहरु जिल्ला प्रशासन दिक्तेलमा सेवा लिन आउन बाध्य छन् । 

इलाका प्रशासनको कामकाजका लागि यसअघि गृह मन्त्रालयले सिनियर नासु मोहनबहादुर राईलाई कायममुकायम शाखा अधिकृतको जिम्मेवारी दिएको थियो । ६-६ महिनाका लागि दिइने कायममुकायमको म्याद असार २६ गते सकिए पनि मन्त्रालयले अर्को व्यवस्था नगर्दा सेवा प्रभावित भएको हो । 

मन्त्रालयले शाखा अधिकृत पठाउने वा कायममुकायमको जिम्मेवारी दिने व्यवस्था नगरेसम्म कार्यालयको काम प्रभावित हुने इलाका प्रशासन कार्यालयले जनाएको छ ।