• ३० वैशाख २०८२, मङ्गलबार

अविरल वर्षापछि प्रदेशभरि बाढीपहिरो

blog

लुम्बिनी प्रदेश ब्युरो

बुटवल, साउन १० गते  । अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बाढी र पहिरोले क्षति पु-याएको छ। बाढी र पहिरोले कतै घरहरू डुबानमा परेका छन् भने कतै नदीमा फसेका मानिसको उद्धार गरिएको छ । पहिरोका कारण विभिन्न ठाउँमा भौतिक संरचना भत्केका छन् भने कतै सवारीसाधन समेत बाढीले बगाएको छ।

बुटवल समाचारदाताका अनुसार बुटवल तिनाउ नदीमा आएको बाढीका कारण तिनाउ र दानव नदीमा फसेका दुई जनाको उद्धार गरिएको छ। बुटवल मजुवास्थित तिनाउ नदीको बिचमा दाउरा खोज्न र माछा मार्न गएका बुटवल पाखापानीका मीनबहादुर गाहा र दानव नदीमा फसेका बुटवल– १४ कैलाशनगरका जनक घर्तीलाई बुटवल नगर प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा मङ्गलबार सकुसल उद्धार गरिएको हो। 

बुटवल उपमहानगरपालिकाले तिनाउ नदीमा जलस्तरले खतराको सतह पार गरेकाले दाउरा खोज्ने तथा माछा मार्ने उद्देश्य वा खोला हेर्ने उद्देश्यले नदी किनारमा नजान अनुरोध गरेको छ। 

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नदी किनारमा विपत् उद्धारको टोली र नगर प्रहरी खटाएर सावधानी अपनाइएको बताउनुभयो। बुटवल उपमहानगरले नदी किनार क्षेत्रमा नगर प्रहरीले माइकिङ गर्दै सावधानी र सतर्कता अपनाउन आह्वान गरेको छ। यसै गरी भारी वर्षाका कारण मङ्गलबार तिनाउ नदीमा आएको बाढीले खतराको सतह पार गरेको थियो। जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको सूचना अनुसार तिनाउ नदी बाढीमापन केन्द्र बुटवलमा जलसतहले खतरा तह पार गरेको हो।

विभागले तिनाउ नदीको तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने खतरा औँल्याउँदै होचा स्थानमा हुनेलाई सुरक्षित स्थानमा रहन सूचना प्रवाह गरेको छ। यस्तै रुपन्देही जिल्लाको सैनामैना–८, रामापुर भड्छामा स्थानीय शङ्खमुनि थारूको घर र सोही वडामा रहेको सतचिन्तन प्रतिष्ठानको भवन डुबानमा परेको छ। स्थानीय इङ्गुरिया नदीमा आएको बाढीले घर तथा प्रतिष्ठानको भवन डुबाएको हो। सैनामैना–८ का वडाध्यक्ष बुद्धिराम चौधरीको नेतृत्वमा इलाका प्रहरी कार्यालय सालझन्डीको प्रहरी टोलीले डुबानमा परेका घरका परिवारलाई सुरक्षित स्थानमा सारेको छ। 

रुपन्देही समाचारदाताका अनुसार वर्षाका कारण निर्माणाधीन बुटवल–पाल्पा सडक खण्डमा सिद्धबाबा सुरुङ मार्गको रिप (अर्ध गोलो डिजाइन) पहिरोले भत्काएको छ। पाल्पाको तिनाउ गाउँपालिका–३ मा बन्ने सुरुङ मार्गका लागि डाइभर्सन सकेर टनेल पोर्टलको काम भइरहेका बेला सुरुङ मार्गको प्रस्थान बिन्दु बुटवलतर्फको रिपलाई मङ्गलबार परको अधिक वर्षासँगै माथिबाट खसेको पहिरोले भत्काएको हो। 

बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबामा वर्षाको समयमा समेत सुरुङ मार्ग निर्माणको काम भइरहेको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत सुरुङ मार्गमा अहिले टनेल पोर्टलको काम भइरहेको आयोजनाले जनाएको छ। सुरुङ मार्गका इन्जिनियर युधिष्टिर पन्थीले चौबिसै घण्टा सुरुङ मार्ग निर्माणको काम भइरहेको बताउनुभयो। आयोजनाको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले काम गरिरहेको छ। आयोजनाका अनुसार एक हजार १२६ मिटर लामो सुरुङ पाल्पाको दोभानबाट सुरु भएर बुटवलको चिडिया खोला रामपिथेकस पार्कसम्म ल्याइने छ। सुरुङ मार्गको लागत १० अर्ब रुपियाँ अनुमान गरिएको छ।

स्विस सरकारको विकास सहयोगमार्फत सुरुङ मार्ग निर्माणका लागि भौगर्भिक अध्ययन गरिएको थियो। सुरुङ मार्ग पाँच वर्षभित्र बन्ने गरी ठेक्का प्रदान गरिएको हो। ठेक्का लगाएको करिब १४ महिना पूरा भएको छ। रातिको समयमा बाटो बन्द गरेर काम भइरहेको आयोजनाले जनाएको छ।

घोराही समाचारदाताका अनुसार दाङमा अविरल वर्षाका कारण डेढ दर्जन सर्वसाधारणका घर डुबानमा परेका छन्। जिल्लाको देउखुरी क्षेत्र अन्तर्गत राजपुर र लमही नगरपालिकामा १७ वटा सर्वसाधारणका घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभयो। 

प्रहरी नायब उपरीक्षक गौतमका अनुसार राजपुर गाउँपालिका–५, भुर्कीहवामा १२ र लमही नगरपालिका–१ सुनडवर, कान्तिपुरलगायतका स्थानमा पाँच घर डुबानमा परेका छन्।  गौतमका अनुसार लमही नगरपालिका–१ स्थित कान्तिपुर टोलस्थित रामबहादुर कुमालको एकतले पक्की घर पानीमा डुब्दा घरको छतमा बसेका परिवारलाई प्रहरीले उद्धार गरेको छ। अविरल वर्षाका कारण राजपुर गाउँपालिका–२ निवासी पुष्पा नेपालीको घर भत्किएको छ। फुसले छाएको कच्ची घर अविरल वर्षाका कारण भत्किएको गौतमले बताउनुभयो। घर भत्किएपछि नेपाली छिमेकीको घरमा आश्रय लिनुभएको छ। यसैबिच वर्षाका कारण खोलामा आएको बाढीले गाडी बगाएको छ। तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको बा ११ च १५११ नम्बरको गाडीलाई मङ्गलबार दिउँसो तुलसीपुर उपमहानगरपालिका–१४, जनकपुरस्थित जाली खोलामा आएको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिनुभयो।  

रुकुमपूर्व समाचारदाताका अनुसार रुकुमपूर्व जिल्लाको भुमे गाउँपालिका–३ स्थित टकसार आधारभूत विद्यालय झुम्लाबाङ पहिरोको उच्च जोखिममा परेको छ। निरन्तर रूपमा वर्षा भइरहेका कारण भिरालो जमिनमा अवस्थित उक्त विद्यालय पहिरोको उच्च जोखिममा परेको हो। 

बालविकासदेखि कक्षा ८ सम्म पठनपाठन भइरहेको यस विद्यालयमा १३३ जना विद्यार्थी रहेका छन्। विद्यालय भवनको छेउछेउका जमिन भासिने र पहिरो जाने क्रम बढ्दै गएर विद्यालय पहिरोको उच्च जोखिममा परेको विद्यालयका प्रधानाध्यापक होमजङ्ग रानामगरले बताउनुभयो। पाँच विद्यालय भवनमध्ये चारवटामा विद्यालयको कार्यालयसहित पठनपाठन भइरहेको प्रअ रानामगरले जानकारी दिनुभयो। भुमे गाउँपालिका र सङ्घीय सरकारको साझेदारीमा ४० लाख रुपियाँ बजेटमा निर्माण गरिएको पक्की एक तलेको तीनकोठे विद्यालय भवन पहिरोले पूर्ण रूपले क्षति पु¥याएको प्रअ रानामगरले बताउनुभयो। नवनिर्मित भवनको माथिबाट आएको पहिरोले भवनको घारी भाग पूर्ण रूपले क्षति भएको उहाँले जानकारी दिनुभयो। पहिरो माथिबाट कति बेला झर्छ भन्ने डरैडरले कक्षाकोठामा पढ्नुपर्ने यहाँका विद्यार्थीको बाध्यता रहेको छ। विद्यालयको सुरक्षा र क्षति पुगेको भौतिक संरचना पुनर्निर्माणका लागि वडादेखि गाउँपालिका–शिक्षा विकास तथा समन्वय एकाइ–जिल्ला प्रशासन र जिल्ला समन्वय समितिसम्म गुहार मागेको विद्यालयले जनाएको छ।