• ११ असोज २०८१, शुक्रबार

उद्योगमा साढे दुई खर्ब लगानी प्रस्ताव

blog

काठमाडौँ, साउन १० गते  । एक वर्षमा स्वदेशी र विदेशी लगानी उद्योग सञ्चालनका लागि साढे दुई खर्ब लगानी प्रस्ताव आएको छ । 

उद्योग विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा स्वदेशी र विदेशी उद्योग सञ्चालन गर्न दुई खर्ब ५२ अर्ब रुपियाँ लगानी प्रस्ताव आएको हो । 

गत वर्ष ३२२ वटा स्वदेशी उद्योग दर्ता भई ती उद्योगमार्फत दुई खर्ब १४ अर्ब प्रस्ताव आएको तथ्याङ्क छ । सो अवधिमा सबैभन्दा धेरै १८६ वटा साना उद्योग दर्ता भएका छन् । 

मझौला उद्योग ७० र ठुला उद्योग ६६ वटा दर्ता विभागको विभागको तथ्याङ्क छ । ती उद्योग सञ्चालनमा आए प्रस्तावित रोजगारी २३ हजार ३२४ जनाले पाउने अनुमान गरिएको छ । 

यस्तै गत आवमा ३२६ परियोजनामार्फत ३८ अर्ब १४ करोड ५५ लाख ६६ हजार वैदेशिक लगानी प्रस्ताव आएको विभागले जनाएको छ । विदेशी लगानीमा सञ्चालित परियोजनाबाट १६ हजार ९६५ जनाले रोजगारी पाउने प्रस्ताव गरिएको छ । विश्वमा देखा परेको आर्थिक सङ्कटका कारण स्वदेशी र विदेशी दर्तासँगै लगानी प्रतिबद्धतामा कमी आएको विभागले जनाएको छ । मुलुकमा देखा परेको आर्थिक सङ्कटका कारण नयाँ उद्योग दर्तामा कमी आएको विभागको तथ्याङ्क छ । बैङ्कको उच्च ब्याजदरका कारण भएका उद्योग पूर्ण रूपमा सञ्चालन हुन नसकेको अवस्थामा नयाँ उद्योग दर्ता सङ्ख्यामा समेत कमी आएको हो । 

विभागका अनुसार गत वर्ष पाँच प्याटेन्ट दर्ता भएका छन् । डिजाइन सङ्ख्या १८, ट्रेडमार्क सङ्ख्या तीन हजार २५४ दर्ता भएका छन् । यस्तै प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) ८२ र टे«कमार्कसम्बन्धी मुद्दा कारबाही १५० सङ्ख्यामा भएको विभागले जनाएको छ । यस्तै उद्योगको निर्यातमा नगद अनुदानका लागि उद्योगहरूको भ्यालु एडिसन प्रमाणित सङ्ख्या ४०४ रहेको छ । भारतमा निर्यातका लागि ९८ वटालाई उत्पत्तिको सर्टिफिकेट सिफारिस गरिएको विभागले जनाएको छ ।