• १४ पुस २०८१, आइतबार

नागरिक उन्मुक्ति पार्टी तत्काल सुदूरपश्चिम सरकारमा सहभागी नहुने

blog

नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ । फाइल तस्बिर

अविनाश चौधरी

धनगढी, साउन ९ गते।  नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारमा तत्काल सहभागिता नजनाउने निर्णय गरेको छ। सो पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा मंगलबार बसेको बैठकले मन्त्रालय भागवण्डा नमिलेकाले प्रदेश सरकारमा नजाने निर्णय गरेको हो। सो पार्टीले दुई मन्त्री र दुई राज्यमन्त्री पाउनु पर्ने जिकिर गरेको छ।

केन्द्रमा भएको सहमति अनुसार दुई मन्त्रालयमा मन्त्री र राज्यमन्त्री नपाउँदासम्म आफ्नो पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा नजाने नागरिक उन्मुक्ति पार्टीका सचिव गङ्गाराम चौधरीले बताउनुभयो। “दुई मन्त्रालय नपाएसम्म सरकारमा नजाने हाम्रो पार्टीको अडान सुरुदेखि नै यथावत् छ”, उहाँले भन्नुभयो। 

सत्तारुढ गठबन्धनले भने नागरिक उन्मुक्ति पार्टीलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय दिएर सरकारमा सहभागी गराउने मनसाय बनाएको छ। एउटा मन्त्रालय लगभग सुनिश्चित भएपछि रामेश्वर चौधरी मन्त्री र कैलाश चौधरी राज्यमन्त्री बन्ने सो पार्टीका प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिनुभएको थियो। 

बैठकमा नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित, सहमहासचिव रामलाल चौधरी, सचिव गङ्गाराम चौधरी, सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीसहित प्रदेश सभा सदस्यको सहभागिता रहेको थियो।