• १३ असोज २०८१, आइतबार

जिल्ला प्रशासन कार्यालय नवलपुर एक्सनमा

blog

अनुगमनमा जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासनका प्रतिनिधिहरु । तस्बिर : बोमलाल गिरी

बोमलाल गिरी

नवलपुर, साउन ८ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका फार्मेसीको अनुगमन गर्ने निर्णय गरेलगत्तै जिल्ला प्रशासन कार्यालय नवलपुर एक्सनमा उत्रेको छ । कार्यालयले सोमबार जिल्ला सदरमुकाम कावासोतीमा रहेका फार्मेसीको अनुगमन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, प्रहरी र पत्रकारसहितको टोलीले सदरमुकाममा रहेका लुम्बिनी फार्मेसी, जीवन मेडिकल हल, ज्ञानेन्द्र फार्मेसीलगायत मेडिकलमा अनुगमन गरेको छ ।

अनुगमनको क्रममा ठूला समस्या नदेखिए पनि सुधार गर्नुपर्ने थुप्रै पक्ष रहेको जिल्ला स्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले जानकारी दिनुभयो । ‘धेरै ठूला समस्याहरु देखिएनन्, तर सुधार गर्नुपर्ने कुराहरु धेरै छन् । तीन दिनभित्र समाधान गर्न निर्देशन दिएका छौं ।’ तिवारीले भन्नुभयो, ‘फेरि पनि ती समस्या दोहोरिए कारवाही प्रक्रिया अघि बढाउँछौं ।’

अनुगमनका क्रममा दर्ता भएका फार्मेसीहरु  नियमित नवीकरण  नभएका, साइनबोर्ड नभएका, चिकित्सकसँगको सम्झौता नभएका, स्वास्थ्य संस्था सञ्चालन स्वीकृतिमा उल्लेख भएअनुसारका सर्तहरु पालना नभएका, गरिव तथा विपन्नका लागि छुट्याइएको १० प्रतिशत निःशुल्क सेवा नदिएकालगायत समस्या देखिएको तिवारीले बताउनुभयो । 

औषधि र औषधिजन्य वस्तुको सहीरुपमा उपभोगका साथै फार्मेसीबाट बिक्रीवितरण हुने औषधिको गुणस्तरबारे जानकारी लिन स्वास्थ्य मन्त्रालयले देशभरका स्वास्थ्य संस्थामा अनुगमन गर्ने निर्णय गरेको थियो । मन्त्रालयका अनुसार देशभरका फार्मेसी अनुगमनका लागि ७७ वटै जिल्लामा अनुगमन संयन्त्र बनाइएको छ ।