काठमाडौँ, साउन ८ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रविधिमा भइरहेको विकास अनुसार टेलिकमले आफ्नो क्षमता र प्रविधि विकास गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल टेलिकम वर्कर्स युनियनको ३२ औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा उहाँले प्रविधिमा भएको परिवर्तन अनुसार कम्पनीले आफूलाई पनि परिवर्तन गर्नुपर्ने बताउनुभएको हो । “ल्यान्डलाइनबाट सुरु भएर अहिले ताररहित सेवा प्रदान भइरहेको छ । प्रविधि र सफ्टवेयरमा छिटोछिटो परिवर्तन हुनुपर्ने अवस्था छ । यस्तो परिवर्तनसँगै टेलिकमलाई पनि समय अनुसार परिवर्तन हुनुपर्ने चुनौती छ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा अर्थमन्त्री महतले स्वास्थ्य र शिक्षा क्षेत्रमा डिजिटलको उपयोग गरेर लागत घटाउनुपर्ने आवश्यकता रहेको भनाइ राख्नुभयो । विगतमा टेलिकम एक्लो सेवा प्रदायक भए पनि अहिले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । “निजी क्षेत्र आक्रामक हुन्छ । उनीहरूको निर्णय प्रक्रिया छिटोछरितो पनि हुन्छ । राज्य संरक्षित कम्पनीमा थोरै कानुनी झन्झट हुन्छन्,” उहाँले भन्नुभयो ।
टेलिकमको क्षमता अभिवृद्धिका लागि व्यवस्थापन र कर्मचारीको एउटै लक्ष्य हुनुपर्नेमा मन्त्री महतको जोड थियो । मन्त्री महतले भन्नुभयो, “कर्मचारीहरूको जायज माग तथा चासो र चिन्ताप्रति राज्य संवेदनशील हुनुपर्छ । यिनीहरू काम गर्ने हुन्, उनीहरूलाई धेरै सुविधा दिनु हुँदैन भन्ने मानसिकतामा परिवर्तन ल्याउनुपर्छ ।” टेलिकमको व्यवस्थापन पनि समय अनुसार परिवर्तित हुनुपर्ने र विगतको ज्ञान मात्र पर्याप्त नहुने उहाँको भनाइ थियो ।
कार्यक्रममा मन्त्री महतले कर्मचारीले सञ्चालन र उत्पादनमा जोडिएका साथीहरूले अधिकारको मात्र कुरा गरेर नहुने बताउनुभयो । कर्मचारीको तर्फबाट टेलिकमलाई दिन सक्ने योगदान, र प्रतिस्पर्धी बनाएर साख बचाउनुपनर्छ भन्ने योजना पनि हुनुपर्ने उहाँको सुझाव थियो ।