• १२ वैशाख २०८१, बुधबार

सशस्त्र प्रहरीद्वारा साखु काठ बरामद

blog

बरामद गरिएका काठ । तस्बिर : सशस्त्र प्रहरी कार्यालय

लीलाराज खड्का

बिर्तामोड, साउन ७ गते । झापाको मेचीनगर क्षेत्रबाट सशस्त्र प्रहरीको टोलीले ७०० क्युफिट साखु काठ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्याल नेतृत्वको टोलीले शुक्रबार राति सो काठ बरामद गरेको हो ।

बरामद काठ हाल डिभिजन वन कार्यालय झापामा राखिएको र आवश्यक अध्ययन अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । एसपी अर्याल नेतृत्वको टोलीले मेचीनगर –१ स्थित कृष्णथुम्की मन्दिर नजिकैबाट सो काठ बरामद गरेको प्रहरीले जनाएको छ । 

कृष्णथुम्की नजिकैबाट उक्त साखु जातको काठ चोरी तस्करी हुनेगरेको सूचना आएसँगै प्रहरीले त्यहाँ पुगी उक्त परिमाणको काठ बरामद गरेको प्रहरीले जनाएको छ । काठ डिभिजन वन कार्यालय झापाको घाटगद्दीमा राखेर नापजाँच र थप मुचुल्का सुरु गरिएको प्रहरीले जनाएको छ । 

सशस्त्र प्रहरी ‘घटनास्थल पुग्दा काठ छाडेर तस्करीमा संग्लनहरु अन्यत्र भागेको  सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्यालले बताउनुभयो । चोरी गर्ने समूहले ट्याक्टरमा लोड गरी लैजाँदै गरेको सालको गोलिया काठ सशस्त्र प्रहरीलाई देख्नासाथ ट्याक्टर छाडेर भागेको समेत प्रहरीले जनाएको छ । 

सशस्त्रले तत्काल सो ट्याक्टरलाई नियन्त्रणमा लिएर तस्कर समूहको खोजी गर्दा थप एउटा ट्याक्टरसहित काठ फेला परेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले थप खोजतलास गर्दा अन्य जातको २०० क्युफिट काठ र करिब एक ट्रक साल र अन्य जातको थप काठ समेत फेला परेको प्रहरीको भनाइ छ ।  

घटनास्थलबाट काठ चोरी तस्करी गर्ने व्यक्तिको खोजी भइरहेको र त्यहाँबाट  दुई वटा ट्याक्टर र काठ गरी करिब ४० लाख रुपियाँ मूल्याङ्कन तोकेर जिल्ला डिभिजन वन कार्यालय झापा सशस्त्र प्रहरीका एसपी अर्यालले बताउनुभयो ।

मेची सब-डिभिजन वन कार्यालय मेचीनगरका रेन्जर कुलप्रसाद भट्टराईले  सशस्त्रले बरामद गरेको काठको विषयमा थप अनुसन्धान भइरहेको बताउनुभयो ।