गोविन्द शर्मा
बाँके, साउन ७ गते । नेपालगञ्ज नाका भएर आर्थिक वर्ष २०७९/०८० मा १४ करोड रुपियाँ बढीको प्लाइउड भारततर्फ निकासी भएको छ । नेपालगञ्ज भन्सार कार्यालयको तथ्याङ्क अनुसार गत आवमा १४ करोड १२ लाख ५४ हजार रुपियाँ मूल्यको प्लाइउड भारततर्फ निकासी भएको हो ।
नेपालगन्जमा रहेका विभिन्न उद्योगहरूले उत्पादन गरेको प्लाइउड भारत निकासी गर्दै आएका छन् । आर्थिक वर्ष २०७८/०७९ मा गत आवमा धेरै मूल्यको प्लाइउड भारततर्फ निकासी भएको छ । भन्सार कार्यालय नेपालगञ्जका सूचना अधिकारी भन्सार अधिकृत डिल्लुप्रसाद शर्माका अनुसार आव २०७८/०७९ मा ८० लाख ३९ हजार रुपियाँ मूल्य बराबरको प्लाइउड भारततर्फ निकासी भएको थियो । प्लाइउड भारततर्फ धेरै परिमाण र मूल्यको निकासी हुने नेपाली वस्तुको चौथो नम्बरमा रहेको छ ।
नेपालगञ्ज नाकाबाट जडीबुटी, खोटो रोजिन र खयर कत्था धेरै निकासी भएको छ । पछिल्लो समय नेपाली प्लाइउडको भारतमा अत्यधिक माग बढेको बाँकेको जानकी गाउँपालिका ३ इन्द्रपुरमा रहेको प्लाइउड उद्योग मिडलाज ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी रिहान मियाले जानकारी दिनुभयो ।
मियाले भन्नुभयो, “केहीसमय अघिसम्म उत्पादन थन्किएपछि बैङ्कको किस्ता कसरी तिर्ने भन्ने चिन्ता थियो, अहिले भारत जान थालेपछि समयमै कसरी सामान दिने भन्ने चिन्ताले सताउने गरेको छ ।”
नेपाली व्यवसायीहरूका अनुसार अहिले भारतको प्रयागराज सहित कानपुर, लखनउ, आग्रा, बहराईच, नानपारा लगायतका सहरहरूबाट व्यवसायीहरू आफैँ नेपाली प्लाइउड खरिदका लागि पुग्ने गरेका छन् । भारतीय व्यापारीहरूको रोजाइमा २९ जातबाट तयार पारिएको प्लाइउड, ढोकाहरू पर्न थालेका छन् ।